राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनप्रति कांग्रेसभित्र विवाद देखिएको छ । कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले छलफल नगरी गठबन्धन गरिएको र नेताहरूको खल्तीबाट उम्मेदवार छानिएको भन्दै फरक मत राखेका छन् ।
‘हिजोको बैठकमा बदलिएको पछिल्लो परिस्थितिमा संविधानको रक्षार्थ राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबिच कम्तीमा सहमति गरेर जाने भनेर ब्रिफिङ गरियो । आज एकाएक एमालेसँग सिट बाँडफाँट गरिएको प्रस्ताव ल्याइयो । त्यसमा पनि दुवै दलका नेताका गोजीबाट को–कोलाई सांसद बनाउनुपर्ने हो, त्यहीअनुसार क्लस्टर पनि बाँडफाँट गरियो,’ बैठकपछि महामन्त्री थापाले पत्रकारसँग भने, ‘हिजो संविधान रक्षा महत्वर्ण हो भन्ने, आज सिट संख्या महत्वर्ण भनियो, उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समिति छ, संसदीय बोर्ड छ । यत्रा पदाधिकारी छौँ, यी कसैलाई थाहा नहुने, तर जिम्मा हामीले लिनुपर्ने ? यो न्यायपूर्ण छैन, गर्नु पनि हुँदैन । २३–२४ भदौसम्म हामी एउटा गठनबन्धनमा थियौँ, त्यही विन्दुमा त्यसको अन्त्य भइसक्यो । अहिले नयाँ परिस्थिति छ । त्यसकारण यो सैद्धान्तिक रूपमा पनि ठिक छैन, प्रक्रियागत रूपमा पनि ठिक छैन । यसको स्वामित्व हामी लिँदैनौँ ।’