कोशी प्रदेशमा एमाले–कांग्रेसको आलोपालो सहमतिअनुसार सरकारका सबै मन्त्रीहरु परिवर्तन भएका छन्। एमाले–कांग्रेस सत्ता गठबन्धनले २१ महिनापछि मन्त्रिपरिषदका सबै मन्त्रीहरु परिवर्तन गरेको हो।
गठबन्धनको आलोपालो सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो मन्त्रिपरिषदका आठजना विभागीय र दुईजना राज्यमन्त्री परिर्वतन गरेका छन्।
कोशी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा ९ वटा मन्त्रालय छन्। जसमा एक राज्यमन्त्रीसहित भौतिक, कृषी, स्वास्थ्य र पर्यटन, वन तथा वतावरण मन्त्रालय कांग्रेसको भागमा छ। एमालेको भागमा मुख्यमन्त्री र एक राज्यमन्त्रीसहित आन्तरिक मामिला, समाजिक विकास, खानेपानी सिंचाई तथा उर्जा र आर्थिक मामिला तथा योजना मन्त्रालय छ।
मंगलबार कांग्रेसका प्रदिप सुनुवार भौतिक तथा पूर्वाधार विकास, मानबहादुर लिम्बु स्वास्थ्य, भिम पराजुली पर्यटन वन तथा वतावरण, उद्योग कृषी तथा सहकारी र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्।
एमालेबाट तिलचन पाठक खानेपानी सिँचाई तथा ऊर्जा, ईन्द्रमणी पराजुली आन्तरिक मामिला तथा कानुन, विदुर लिङथेप आर्थिक मामिला तथा योजना, रामप्रकाश महतो सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला राज्यमन्त्री बनेका छन्।
कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा २७ बैसाख २०८१ मा एमाले–कांग्रेस गठबन्धनबाट एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका थिए। तेस्रो कार्यकालमा मुख्यमन्त्री कार्कीले जम्मा पाँच पटक मन्त्रिपरिषद विस्तार गरिसकेका छन्। राज्य र विभागीय सबै मन्त्रीहरु आलोपालो सहमतिअनुसार परिवर्तन गरिएको चाहीँ मंगलबार पहिलोपटक हो। मुख्मन्त्री कार्कीले यसअघि २०८१ जेठ ४, भदौ २८ र मंसिर १७ मा मन्त्रिपरिषद विस्तार गरेका थिए।
यसअघि कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला, राम रानामगर आर्थिक मामिला, एकराज कार्की खानेपानी, उर्जा तथा सिँचाई र पाँचकर्ण राई सामाजिक मन्त्री अनि श्रृजना राई विनाविभागीय राज्यमन्त्री थिइन्। कांग्रेसबाट भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पर्यटन वन तथा वतावरण मन्त्री सदानन्द मण्डल, कृषी तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम मन्त्री थिए।
कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा एमालेका ४० र कांग्रेसका २९ जना सांसद छन्। सरकार गठनको बहुमतका लागि कुल ९३ मध्ये ४७ जना सांसद आवश्यक पर्छ। कोशीमा विपक्षी दलहरु माओबादी केन्द्रको १३ राप्रपाको ६, एकीकृत समाजबादीको ४ र जनता समाजबादीको एक सांसद छन्।
कोशी प्रदेशमा आठ वर्षमा नौ वटा सरकार परिवर्तन भएका छन्। जसमा पहिलो कार्यकालमा एमालेका शेरधन राई र भिम आचार्य तथा एकीकृत समाजबादीका राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका थिए। दोस्रो कार्यकालको तीन बर्षमा एमालेका हिक्मतकुमार कार्की तीनपटक, कांग्रेसका उद्धव थापा दुई पटक र कांग्रेसका केदार कार्की एकपटक मुख्यमन्त्री बनेका छन्। दोस्रो कार्यकालमा कोशी प्रदेशमा मन्त्रीहरुको संख्या दोहोरिएका सहित ५८ जना पुगेको छ।