केही दिनयता मधेशमा देखिएको सामाजिक सद्भाव विरोधी गतिविधि देखिएपछि गृह मन्त्रालयमा विभिन्न आयोगका अध्यक्षसहित छलफल भएको छ । बैठकले सद्भाव र संयमता कायम राख्न सबैलाई आग्रह गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाह, मुस्लिम आयोगका कावा अध्यक्ष महामदिन अलि, थारू आयोगका कावा अध्यक्ष सुबोधसिंह थारू, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो।
गृहमन्त्री अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउँदै सबै पक्षसँग तत्काल सद्भाव र सह–अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरे।
गृह प्रशासन र संघीय सरकारको तहबाट गरिनुपर्ने सबै खालका सुरक्षाका पूर्वतयारी र सजगता अपनाइएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकोले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन्।
यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्न उनीहरूको भूमिका हुने बताए ।
सो क्रममा आयोगका कार्यवाहक अध्यक्षहरूले अहिले मधेस प्रदेशमा देखिएका धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिहरूलाई केन्द्र तथा प्रदेश सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीहरूको समन्वयात्मक भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

यसअघि पनि, गृहमन्त्री अर्यालको अध्यक्षतामा आजै मधेश प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग ’जुम’ बैठक सम्पन्न भएको थियो। बैठकमा मन्त्री अर्यालले हाल मधेश प्रदेशका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
गृहले आइतबार पनि मुस्लिम अगुवासँग यसबारेमा छलफल गरेको थियो।
धनुषामा टिकटकबाट सुरु भएको विवाद चर्किएर दुई समुदायबिच तनाव बढेको छ। वीरगन्जमा मंगलबार बिहान ८ बजेसम्मलाई कर्फ्यु आदेश भएको छ ।
गृह मन्त्रालयले सबै जिल्लामा समन्वय बैठक गरी सद्भाव समितिहरू बनाउन निर्देशन दिएको छ। सद्भाव भड्काउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न पनि गृहले निर्देशन दिएको छ।