निर्वाचनमा सशस्त्र प्रहरीले निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने भएको छ । निर्वाचन प्रहरी भर्ना गर्न सशस्त्र प्रहरीलाई अर्थ मन्त्रालयले ८० करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
सशस्त्र प्रहरीले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गर्नेछ। सकेसम्म अवकाशप्राप्त कर्मचारीलाई भर्ना गरिने र अपुग भएका अन्यलाई राखिने सशस्त्र प्रहरीको नीति छ ।
हरेक मतदानस्थलमा सशस्त्र प्रहरी पनि खटाउने सुरक्षा योजनामा उल्लेख छ । करिब ३६ हजार मात्र जनशक्ति रहेको सशस्त्र प्रहरी सबै मतदान केन्द्रमा खटाउन अपुग हुने भएपछि निर्वाचन प्रहरी पनि भर्ना गर्न लागिएको छ । सशस्त्र प्रहरीबाट परिचालन हुने निर्वाचन प्रहरीलाई कसरी खटाइने भन्ने विषयमा शुक्रबार निर्णय गरिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले बताउँछन् । सशस्त्र प्रहरीले दोस्रोपटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो। यसअघि २०६४ सालको निर्वाचनमा पनि सशस्त्र प्रहरीले साविक म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाल प्रहरीले भने एक लाख ३३ हजार म्यादी भर्ना गर्न बजेट पाएको छ। निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीले सात अर्ब १३ करोड २५ लाख पाएको छ । ४० दिनका लागि भर्ना हुने निर्वाचन प्रहरीले प्रहरी जवानबराबरको तलब र रासन सुविधा पाउनेछन् ।