आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा एक हजार ४३४ जना नयाँ मतदाता थपिएका छन्। नयाँ थपिएका मतदातासहित धनकुटामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता संख्या पुगेको छ।
जसमा ५९ हजार ४८३ जना पुरुष र ५८ हजार ९४२ जना महिला रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ। यसअघि धनकुटाको कुल मतदाता संख्या एक लाख १६ हजार ९९१ रहेको थियो ।
नयाँ मतदाताका लागि तीन हजार २७२ जनाले नाम दर्ता गरेको भए पनि एक हजार ४३४ जनाको मात्रै मतदाता नामावलीमा समावेश गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए । कुल मतदातामध्ये धनकुटा नगरपालिकामा २४ हजार २९८ जना, महालक्ष्मी नगरपालिकामा १८ हजार ४४७ जना र पाख्रीबास नगरपालिकामा १७ हजार ७०१ जनाको नाम कायम गरिएको छ ।
त्यस्तै, चौबिसे गाउँपालिकामा १४ हजार २६ जना, साँगुरीगढी गाउँपालिकामा १६ हजार ७०२ जना, सहिदभूमि गाउँपालिकामा १३ हजार ५६४ जना र छथर जोरपाटी गाउँपालिकामा १३ हजार ६८७ जना मतदाता नामावली कायम गरिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।