उपसभामुख इन्दिरा रानाले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्वका रूपमा लिँदै आएको बताएकी छिन् । गणतन्त्र चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले आयोजना गरेको वार्षिकोत्सव समापन कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त धारणा राखेकी हुन् ।
‘चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्वका रूपमा लिन्छ,’ उनले भनिन्, ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दछ। हाम्रा लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको छ जसका लागि हामी सधैँ आभारी छौँ।’
उपसभामुख रानाले नेपाल र चीनले ७० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना गरेर दुई राष्ट्रहरूबिचको एक अद्वितीय र स्थायी सम्बन्धको सुरुवात गरेको चर्चा गर्दै सात दशक सधैँ स्थिर रहेको सम्बन्धले पारस्परिक सम्मान, भौगोलिक निकटता र साझा सांस्कृतिक र आध्यात्मिक सम्पदामा जरा गाडेको बताइन् । उनले भनिन्, ‘प्राकृतिक सीमाको रूपमा उभिएका हिमालयहरू कहिल्यै सम्बन्धमा बाधक बनेका छैनन्, हाम्रो निकटता, हाम्रो साझा भाग्य र शान्तिपूर्ण सहअस्तित्वप्रतिको हाम्रो प्रतिबद्धताको प्रतीक बनेका छन्।’
नेपालले सधैँ एक मैत्रीपूर्ण छिमेकी र रणनीतिक साझेदारको रूपमा चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको पनि उनको भनाइ थियो। नेपाल संघीयता, समावेशी विकास र दिगो विकासको बाटोमा अगाडि बढ्दै गएको र चीनलाई एक मूल्यवान साझेदारको रूपमा देखेको बताउँदै उपसभामुख रानाले नेपालको संविधान र विदेश नीतिअनुसार सबै देशहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताइन् ।