२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यादेशसहित गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति आउन ७० दिन मात्रै बाँकी रहँदा मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्कीले शुक्रबार परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई ल्याएकी छिन् ।
शर्माले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट परराष्ट्रमन्त्रीको शपथग्रहण गरी कार्यभार सम्हालेका छन् । कार्की नेतृत्वको सरकारले गठन भएको १०६ दिनपछि परराष्ट्रमन्त्री पाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शर्मा नेपालका ३३औँ परराष्ट्रमन्त्री हुन् ।
कार्कीले सरकार गठनको प्रारम्भमै शर्मालाई मन्त्रिपरिषद्मा सहभागी गराउने प्रयास गरेकी थिइन् । तर, व्यक्तिगत कारणका कारण तत्काल सहभागी हुन नसकेको र परिस्थिति सहज बनेपछि अहिले जिम्मेवारी लिएको शर्माले बताए ।
‘सुरुवातमा व्यक्तिगत कारणले सरकारमा सहभागी हुन सकिनँ । पछि फेरि आग्रह गर्नुभयो, अहिले म सहभागी हुन सक्ने अवस्थामा पुगेँ र स्वीकार गरेर आएको हुँ,’ परराष्ट्रमन्त्री शर्माले शुक्रबार साँझ नयाँ पत्रिकासँग भने । उनले छोटो कार्यकाल भए पनि आफूले सकेको योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
देश चुनावमय भइसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री शर्माले दुई छिमेकी मुलुकसँग मात्र नभई अन्य मित्रराष्ट्र र नवोदित राष्ट्रहरूसँग पनि अनुभव र ज्ञान आदानप्रदान गर्दै अघि बढ्ने बताए । ‘चुनावी सन्दर्भमा परराष्ट्र मन्त्रालयले छिमेकी तथा अन्य देशहरूसँग सहकार्य गर्नुपर्ने विषय छन् भने तिनलाई व्यवस्थित ढंगले अघि बढाउनेछु,’ उनले भने ।
राष्ट्रपति पौडेलबाट शपथ खाएर परराष्ट्र मन्त्रालयमा पुगेका शर्माले नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्दै देशको राष्ट्रिय हित अघि बढाउन बेग्लै सामाजिक सञ्जाल खोल्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रीस्तरीय निर्णय तत्कालै कार्यान्वयनमा आएको परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार परराष्ट्रले सामाजिक सञ्जाल एक्समा नेपाली डिप्लोमेसीनामक खाता खोलेको छ । ‘यो डिजिटल खातामार्फत हामीले नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्नेछौँ । विशेषगरी नेपालका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र सभ्यतासँग सम्बन्धित सम्पदाहरूको प्रवर्द्धन निरन्तर रूपमा गर्नेछौँ,’ प्रवक्ता पौडेलले भने ।
परराष्ट्र मन्त्रालयका अधिकारीलाई सम्बोधन गर्दै शर्माले नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, सार्वभौमिकता र पारस्परिक समानताबाट निरन्तर निर्देशित रहने बताए । उनले आइतबार मन्त्रालयका सबै महाशाखाहरूको ब्रिफिङ लिनेछन् ।
जेन–जी आन्दोलनपछि २६ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले यसअघिसम्म परराष्ट्र मन्त्रालय आफैँ सम्हाल्दै आएकी थिइन् । यस अवधिमा उनले नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई देशको राजनीतिक अवस्था र निर्वाचनबारे ब्रिफिङ गरिसकेकी छिन् । सरकारले असोजमा विभिन्न ११ देशमा कार्यरत नेपाली राजदूतहरू फिर्ता बोलाए पनि नयाँ राजदूत नियुक्त नगरेको भन्दै आलोचना हुँदै आएको छ । परराष्ट्र मामिलामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको प्रभाव बढ्दै गएको टिप्पणी छन् ।