बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अप्सरा बस्नेत नियुक्त भएकी छिन्। उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताका रूपमा नियुक्त गरेका हुन्।
यसअघि बस्नेतलाई प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्न प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गरेका थिए। आइतबार सूचना जारी गर्दै बस्नेतलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो।
मुख्य न्यायाधिवक्ताको हैसियतमा बस्नेतले प्रदेश सरकारको तर्फबाट कानुनी सल्लाह प्रदान गर्ने, मुद्दा मामिलामा प्रतिनिधित्व गर्ने तथा संविधान र कानुनबमोजिमका अन्य दायित्वहरू निर्वाह गर्नेछिन्। मुख्य न्यायाधिवक्तामा नियुक्त बस्नेत जिल्ला बार मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुन्।