श्रम संस्कृति पार्टी खोटाङले यही मंसिर–२७ गते (शनिबार) दिक्तेल बजारमा आमसभा गर्ने भएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गर्न लागिएको आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’, महासचिव आर्यन राईलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
जनतासँग प्रत्यक्ष भेटघाट तथा राजनीतिक जागरुकता अभिवृद्धिका लागि पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा बृहत् आमसभा गर्न लागिएको जिल्ला संयोजक प्रताप राईले जानकारी दिए। ‘बृहत आमसभामा सांस्कृतिक झाँकीसहितको र्याली, साकेला सिली प्रदर्शनी, राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुति लगायतका कार्यक्रम गरिनेछ । कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी हुनेछन्’, उनले भने, ‘खोटाङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्यसमिति अहिलेसम्म तदर्थ छ । आमसभा सम्पन्न भएपछि यसलाई समेत पूर्णता दिइनेछ ।’
आमसभामा राजनीतिक ज्ञान भएका व्यक्तिलाई स्वागत गर्ने कार्यक्रमसमेत राखिएको संयोजक राईले जानकारी दिए । ‘हाम्रो पार्टीप्रति जनताको आकर्षण बढेको छ । विभिन्न पार्टी परित्याग गरेर हाम्रो पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्तालाई बृहत् आमसभामा स्वागत गर्ने कार्यक्रम पनि राखिएको छ’, उनले भने, ‘मंसिर–२७ गते आयोजना गर्न लागिएको कार्यक्रममा ठूला दल भनिएका पार्टीबाट धेरै नेता तथा कार्यकर्ताहरु निस्वार्थरुपमा हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । उहाँहरुलाई उचित स्थान दिएर पार्टी गतिविधिमा सक्रिय बनाउनेछौँ ।’
दश स्थानीय तह रहेको जिल्लामा श्रम संस्कृति पार्टीको पालिकास्तरीय समिति आठ पालिकामा गठन भइसकेको जनाइएको छ । पालिकास्तरीय समिति गर्न बाँकी दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा समेत चाँडै पालिकास्तरीय समिति गठन गरिने संयोजक राईले जानकारी दिए ।