‘प्रधानमन्त्रीले विश्वविद्यालयको भारी बोक्ने व्यवस्था हटाउन जरुरी’

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीले नै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताएकी छिन्। देशभर रहेका १७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहने विद्यमान व्यवस्था रहेकाले उनले यस्तो व्यवस्था ठिक नभएको बताइन्।

अब विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने प्रधानमन्त्री कार्कीको धारणा छ। बुधबार त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै कार्कीले त्रिविको कुलपति बस्ने व्यवस्था हटाउने संकेत दिइन्।

‘एउटा प्रधानमन्त्रीले डोकोभरि सारा विश्वविद्यालयको भारी बोकेर हिँड्न सक्दैन, विश्वविद्यालयहरू स्वायत्त हुनुपर्छ, प्रधानमन्त्रीले विश्वविद्यालयको भारी बोक्ने व्यवस्था हटाउन जरुरी छ,’ उनले भनिन्, ‘१७ वटा विश्वविद्यालयको कुलपति हुन कसरी साध्य हुन्छ ?’

अन्य देशका विश्वविद्यालयमा यस्तो नहुने प्रस्ट पार्दै प्रधानमन्त्रीले भनिन्, ‘विश्वविद्यालयका कार्यक्रममा जानुपर्ला, भाषण गर्नुपर्ला, फेरि राजनीतिक दलबाट आएको व्यक्ति कुलपति हुँदा राम्रो होला–नहोला, अन्य देशका युनिभर्सिटीमा यस्तो छैन, हाम्रोमा सबै विश्वविद्यालयको जिम्मेवारी कुलपतिले लिने व्यवस्था राम्रो भएन।’

सुझावित समाचार