धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्नेको भिड बढेको छ । नामावली दर्ता गर्ने समय घर्किनै लाग्दा नाम दर्ता गर्न आउनेहरू बढेका निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार केही दिनयता दैनिक करिब चार सयजनाले नामावलीमा नाम दर्ता गराइरहेका छन् ।
निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउनेको बिहानैदेखि भिड हुने गरेको छ । कैलालीमा गत १० असोजयतादेखि सोमबार दिउँसोसम्म ६ हजार ९३ जना मतदाता थपिएका चौधरीले जानकारी दिए । उनका अनुसार थपिएकामध्ये अधिकांश युवा छन् । निर्वाचन आयोगले यसअघि नाम दर्ता गर्ने समय ३० कात्तिकसम्म तोकिएकोमा अहिले समय बढाएर ५ मंसिरसम्म पुर्याएको छ ।
मतदाता नामावली दर्ता गराउने युवाहरू भ्रष्टाचार र बेथितिका विरुद्ध गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका कारण बदलिएको अहिलेको परिस्थितिमा निर्वाचनबाट सही र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताउँछन्। प्रदेश निर्वाचन कार्यालयमा भेटिएका डोटीको केआइसिंह गाउँपालिका– २ का युवा कृष्णबहादुर बमले आगामी निर्वाचनमा मतदात गर्नका लागि नाम दर्ता गराउन लागेको बताए ।
आन्दोलनपछि मुलुक फरक परिस्थितिमा पुगेको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र विकासका लागि निर्वाचनबाट सक्षम नेतृत्व छान्न युवाहरू अग्रसर हुनुपर्ने बताए। कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनरत बमले यहीँबाट पनि आफ्नो क्षेत्रका लागि नाम दर्ता गराउन लागेको बताए । अध्ययन, रोजगारीलगायत विभिन्न कामको सिलसिलामा यहाँ बसोबास गर्ने अन्य जिल्लाका स्थानीयले पनि प्रदेश कार्यालयमा नामावली दर्ता गराइरहेका छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले मतदाता नामावली दर्ता कार्य उत्साहजनक रूपमा भइरहेको बताए । यहाँका नौ जिल्लामध्ये कैलालीमा नामावली दर्ता गर्न आउनेको संख्या धेरै रहेको उनले जानकारी दिए । ‘हिजोआज भिडभाड अझ बढेको छ । नाम दर्ता गर्नेहरूमा जेन–जी पुस्ताका युवाहरू बढी छन्,’ उनले, ‘जिल्लाका विभिन्न ठाउँबाट बस ‘रिजर्भ’ गरेर पनि नाम दर्ता गराउन धनगढीमा रहेको आयोगको कार्यालयमा आइरहेका छन् ।’ पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको कैलालीमा अहिले थपिएकासहित मतदाता संख्या पाँच लाख ३५ हजार पुगेको छ । कैलालीमा गत निर्वाचनमा २३७ वटा मतदान स्थल र ६२९ वटा मतदान केन्द्र रहेका थिए ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार नाम दर्ता सुरु भएको गत १० असोजयता सुदूरपश्चिमभरि करिब १५ हजारभन्दा बढी मतदाता थपिएका छन् । नयाँ थपिएका मतदातामध्ये कैलाली, कञ्चनपुरमा बढी छन् । हालसम्म कञ्चनपुरमा तीन हजार ७२२ जना, बझाङमा ८५८, अछाममा ९०६ जना मतदाता थपिएका छन्। त्यस्तै, दार्चुलामा एक हजार १४९ जना, बैतडीमा ६९५, बाजुरामा ७२७, डडेल्धुरामा ५३५ र डोटीमा ५०१ जना मतदाता थपिएका भट्टले जानकारी दिए । गत निर्वाचनमा सुदूरपश्चिमभरि मतदाता संख्या १६ लाख ५८ हजार थियो । नाम दर्तासँगै नामावली अद्यावधिक पनि आयोगले गरिरहेको छ ।