बागमतीमा लाइसेन्स छपाइका मेसिन तयार, तर अनुमति नआउँदा सञ्चालन हुन सकेन

शुक्रबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया सहज र छिटो बनाउन पाँच थान अत्याधुनिक मुद्रण मेसिन खरिद गरी स्थापना गरेको छ । तर, सुरक्षण मुद्रण विभागको स्वीकृति नपाउँदा ती मेसिन सञ्चालनमा आउन सकेका छैनन् ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीका अनुसार प्रदेश सरकारले खरिद गरेका प्रत्येक मेसिनले प्रतिघण्टा करिब १५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्छन् । तर, मुद्रण विभागबाट अनुमति नपाउँदा लाखौँ सेवाग्राही अझै लाइसेन्सको पर्खाइमै बस्न बाध्य भएका छन् । सचिव भारतीका अनुसार सवारीचालक अनुमति परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि राजस्व तिरेका हजारौँ नागरिकलाई लाइसेन्स वितरणमा ढिलाइ हुँदा असुविधा भएको छ । ‘जेन–जी आन्दोलनका क्रममा मन्त्रालय र केही कार्यालय क्षति भए पनि हाम्रो प्राविधिक तयारी पूरा भइसकेको छ । तर, सुरक्षण मुद्रण विभागको स्वीकृतिविना कानुनी अड्चनका कारण छपाइ सुरु गर्न सकिएको छैन,’ उनले भने, ‘जसका कारण थुप्रै सेवाग्राही असुविधा भोग्न बाध्य हुनुपरेको छ ।’

सुरक्षण मुद्रण ऐन, २०८१ को दफा ९ (३) अनुसार प्रदेशले जनतामुखी सेवा सुदृढ गर्न आवश्यक तयारी गर्न पाउने प्रावधान भए पनि कार्यान्वयनका लागि केन्द्रको स्वीकृति अपरिहार्य रहेको श्रममन्त्री जयराम थापाले बताए । प्रदेश सरकारले संघीय सरकारसँग पटक–पटक पत्राचार गरी छपाइ स्वीकृतिका लागि आग्रह गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘जनताको हितका काममा प्रतिबद्ध छौँ । अनुमति प्राप्त हुनेबित्तिकै छपाइ प्रक्रिया सुरु गर्न तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘संघीय सरकारसँग पटक–पटक पत्राचार गरी छपाइ स्वीकृतिका लागि आग्रह गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन नआउँदा भने समस्या भएको छ ।’

मन्त्रालयको तथ्यांकअनुसार हाल बागमती प्रदेशका १२ लाख र देशभरका १३ लाख गरी कुल २५ लाखभन्दा बढी लाइसेन्स छपाइ पर्खाइमा छन् । 

सुझावित समाचार