राष्ट्रिय परिचयपत्रको आधारमा मतदानको व्यवस्था गर्न जेन–जी फ्रन्टको माग

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल जेन–जी फ्रन्टले राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक्स विवरणका आधारमा नागरिकलाई मतदान गर्न दिने व्यवस्था मिलाउन माग गरेको छ।

फ्रन्टले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान मतदाता नामावली दर्ता प्रक्रियामा बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम नै पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह नदेखिएको जिकिर गरेको छ।

फ्रन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ दर्ता गर्न सकिने भनेकोमा दर्ताका लागि अब नाै दिन मात्रै बाँकी छ। अहिलेसम्म जम्मा एक लाख ३६ हजार नयाँ मतदाताले दर्ता गरेको तथ्यांक आएको छ। यस्तो परिस्थितिले समग्रमा जेन–जी विद्रोह र युवाहरूको मर्मलाई समेट्न नसक्ने देखिएको छ।’

फ्रन्टले सरकार र निर्वाचन आयोगलाई यस प्रक्रियालाई सहजीकरण गर्न सुझाव दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस समस्यालाई समाधान गर्न र आउँदो चुनावमा नागरिकको मताधिकार सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्रको तथ्यांकका आधारमा निर्वाचन केन्द्रमै बायोमेट्रिक्स रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोगसमक्ष जोडदार माग गर्दछौँ।’

राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने फ्रन्टको धारणा छ।

सुझावित समाचार