सिराहाको पश्चिमवर्ती कमला नदीमा ‘भूतप्रेत’ हट्छ भन्ने मान्यताअनुसार धामीझाँक्रीको आदेशअनुसार काम्दै कमला स्नान गर्न आउनेहरूको भिड लागेको छ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बुधबार बिहान सबेरैदेखि धनुषासँग सीमा जोडिएको सिराहाको पश्चिमवर्ती कमला नदीमा पर्ने उत्तरबाहिनी, ब्यारेज, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, पटेर्वा, बसबिट्टा र सीमावर्ती भारत जयनगरको कमला ब्यारेजसम्म स्नान गर्न आउनेहरूको ठुलो भिड लागेको छ ।

कमला नदीलाई साक्षी राखेर ‘भूतप्रेत’बाट पिरोलिएका भनिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र व्यक्ति तथा परिवार स्वस्थ हुने मान्यता रहेको धामीझाँक्रीहरू दाबी गर्छन् । कर्जन्हा नगरपलिका– १ मा पर्ने कमला नदीको उत्तरबाहिनीमा स्नान गरी धामीझाँक्रीले भनेअनुसार काम्दै पूजा गर्नेहरूमा बहुसंख्यक मधेशी मूलका महिला छन् ।

पहेँलो सारी लगाएर हातमा बल्दै गरेको आगोसहितको माटोको धुपौरो (ढकना), बेत वा बाँसको लठ्ठी घुमाउँदै काम्दै पूर्णिमाको अघिल्लो साँझदेखि नै आउने गर्दछन्। त्यसरी कमला नदीमा स्नान गरे शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने र कुलदेवतासमेत खुसी भई परिवारमा आपत्–विपत् नआउने धामीझाँक्रीको दाबी छ । कमला स्नानका लागि धामीझाँक्रीसँग उदयपुर, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहारसम्मका मानिस आउने गर्छन् ।

हातमा बलिरहेको धुपौरोसँगै काम्दै धामीझाँक्रीले भनेबमोजिम बाँस वा बेतको लौरो लिएर स्नान गरी पूजा गर्दा शरीरबाट ‘भूतप्रेत’ भाग्ने धनुषाको रघुनाथपुरबाट कमला स्नान गराउन आएका करिब ५७ वर्षीय रामलोभित महराले बताए । धामीझाँक्रीको सहयोगमा कमला स्नानसँगै पूजा गरेपछि व्यक्तिको शरीरमा प्रवेश गरेको ‘भूतप्रेत’ उत्रिने उनको दाबी छ ।

