अपांगता भएका पदयात्री पहिलोपटक अन्नपूर्ण आधार शिविरमा

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलोपटक अपांगता भएका पर्यटकहरू पुगेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढेको अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै अपांगता भएका व्यक्तिहरूले आधार शिविरसम्मको भ्रमण गरेका हुन् । 

अपांग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा ६ प्रकारका अपांगता भएका नौजनाले ५ कात्तिकदेखि नारच्याङको हुमखोलादेखि सुरु गरेको पदयात्रा ८ कात्तिकमा आधार शिविर पुगेर फर्किएको सञ्जालका सचिव विशाल विकले जानकारी दिए । नारच्याङदेखि हुमखोलासम्म सवारी यात्रापछि २२ किलोमिटर दूरीको पदमार्गमा पैदल यात्रा गरेर उनीहरूले अपांगतामैत्री अन्नपूर्ण पदयात्रा गरेका हुन् । 

४,०५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र ४,१९० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम आधार शिविरसम्म पुगेर सो टोली फर्किएको हो । पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी, संगीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली थिए । उनीहरूको सहयोगीका रूपमा वन्दना राई सहभागी थिइन् ।

पर्यटन क्षेत्रमा अपांगतामैत्री नीति तथा भौतिक संरचनाको निर्माण र समावेशिताको सन्देश फैलाउन आयोजना गरिएको पदयात्रा सफल भएको सञ्जालका सचिव विकले बताए । ‘अपांगता भएका व्यक्तिमा पनि प्रकृतिसँग रमाउने चाहना हुन्छ, तर पर्यटन पूर्वाधारलाई अपांगतामैत्री बनाउनतर्फ खास ध्यान पुगेको हुँदैन । हामीले पदयात्रामा साहसिक मानिएको अन्नपूर्ण प्रथम आधार शिविर पुगेर अपांगतामैत्री पदयात्रालाई पूरा गरेका छाैँ, यसले सरोकारवाला निकायलाई नीति र पूर्वाधार बनाउँदा रचनात्मक पृष्ठपोषण गर्नेछ भन्ने लागेको छ,’ उनले भने । 

आन्तरिक पर्यटकले पदमार्ग, होटेललगायत पूर्वाधार अपांगतामैत्री नभएकाले आगामी दिनमा संरचना निर्माण गर्दा अपांगतामैत्री बनाउन आवश्यक रहेकोमा सरोकारवालाको ध्यानकर्षण गराएका थिए । सहभागीले आफ्नो पदयात्रामा निस्किएका फोहोरका सामानसमेत आफैँ व्यवस्थापन गरेका थिए । टोलीमा सहभागी वासु थकालीले सांकेतिक भाषामा अन्नपूर्ण आधार शिविर क्षेत्रमा फोहोर देखिएको भन्दै हरेक पदयात्रीले आफूले लगेको फोहोरलाई आफैँले झोलामा फर्काएर व्यवस्थापन गर्न अनुरोध गरेका थिए । अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग र आधार शिविर क्षेत्रलाई फोहोररहित बनाउन पर्यटक, होटेल व्यवसायी, स्थानीय तह र सरोकारवालाले ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

सुझावित समाचार