नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उनले रुपान्तरण र पुस्तान्तरण भए मात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राखे।
नेता पौडेलले आफ्नो प्रस्तावमा अहिलेको विद्रोहको सम्बोधन, विशेष महाधिवेशनको माग, युवाको संलग्नता वृद्धि तथा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर तत्काल १५औँ महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन्।
‘यसले मात्र ताजा जनादेशसहितको नेतृत्व र नीति लिएर पार्टी नयाँ ऊर्जाका साथ अगाडि आउनेछ। नवयुवाको प्रवेश बढ्नेछ। यसले मात्र देशको समस्या हल गर्ने सामर्थ्य राख्नेछ,’ उनले भने।
विशेष महाधिवेशनको प्रस्ताव गर्ने साथीलाई धन्यवाद दिँदै उनले अहिलेको अवस्थामा यो वा त्यो बहानामा पार्टी अधिवेशन पर, म्याद थप्ने आदि विषयले पार्टी र देशलाई गम्भीर संकटमा धकेल्ने धारणा राखे।