राप्रपाले कात्तिक अन्तिम साता पार्टीको आगामी महाधिवेशनबारे निर्णय लिने भएको छ । बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २७ र २८ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टीमा महाधिवेशनको मिति तोक्न चर्को दबाब छ । ‘छठ पर्वपछि देशभर जनस्तरसँग प्रत्यक्ष संवाद गर्न जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, केन्द्रीय कार्यसमितिको बैठक आगामी २७ र २८ कात्तिकमा काठमाडौंमा बोलाई सो बैठकबाट केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ,’ राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले भने ।
राप्रपाले देश गम्भीर भूराजनीतिक दबाब र राजनीतिक अनिश्चिततामा फसिरहेको निष्कर्ष निकालेको छ । बैठकले जेन–जी समूह, विभिन्न राजनीतिक दल र राजसंस्थाबिच नवीन समझदारी गरेर सबैले जित्ने राष्ट्रिय सहमति बनाउने समय आएको ठहर गरेको छ । राप्रपाले तत्काल संवाद र सार्थक पहलका लागि सबै पक्षलाई आह्वान गरेको छ ।
राप्रपाले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीका मुद्दा र विकल्पबारे अन्य दलसँग औपचारिक संवाद गर्न अध्यक्ष लिङ्देनलाई विशेष जिम्मेवारी दिएको छ । बैठकले वर्तमान संविधान र निर्वाचन प्रणालीबाट दीर्घकालीन समाधान सम्भव छैन भन्ने ठहर गर्दै पनि पार्टी प्रजातान्त्रिक प्रक्रियाबाट अलग नहुने निर्णय गरेको छ । जेन–जी आन्दोलन र चाडपर्वका कारण प्रभावित अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिएको पनि राप्रपाले जनाएको छ ।