माओवादीसँग पार्टी एकताको विपक्षमा खनाल

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल माओवादीसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने गृहकार्य चलिरहेका वेला खनालले सचिवालय बैठकमा लिखित धारणा पठाउँदै पार्टी पुनर्गठनमा जोड दिएका हुन् । 

जेन–जी आन्दोलनका क्रममा निवासमै आगजनीमा परेकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि उनी हाल भारतमा छन् । उनले एकताको सहनाई नबजाउन तथा अविलम्ब पार्टी पुनर्गठनको दिशा समात्न आग्रह पनि गरेका छन् । खनालले अहिले पार्टीलाई आम रूपमा पुनर्गठनको खाँचो रहेको औँल्याएका छन् । अहिले सबै पार्टीमा पुनर्गठनको बहस बाक्लिएका वेला एकीकृत समाजवादीले एकताको बेमौसमी बाजा बजाउनुको तुक नरहेको उनको दाबी छ । ‘एकीकृत समाजवादीलाई आम रूपमा पुनर्गठन गर्न जरुरी छ । पार्टीलाई व्यापक पुनर्गठन गर्दै क्रान्तिकारी शक्ति बनाउनुपर्नेछ । त्यसपछि मात्रै एकताको सान्दर्भिकता रहन्छ,’ उनले भनेका छन् ।

खनालले विगतमा कांग्रेसको पुच्छर बनेर हिँड्दा पार्टी आन्दोलन संगठित नै हुन नपाएको पनि बताएका छन् । अहिले माओवादीसँग एकता गर्न हतारिँदा एकीकृत समाजवादीको औचित्य नै समाप्त हुने उनको दाबी छ । उनले आफू बृहत् वामपन्थी एकताको पक्षधर भएको पनि बताएका छन् । ‘म बृहत् वामपन्थी एकताको पक्षधर नै हुँ । लामो समयदेखि भन्दै पनि आएको छु । तर, सबैलाई हेक्का होस्, त्यो वेला आइसकेको छैन,’ उनले भनेका छन् ।

खनालले जेन–जी आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र नभएको पनि बताएका छन् । ‘युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन, यो दुईतिहाइ बहुमत भएको संसद् विघटन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो । 

सुझावित समाचार