बागमती प्रदेश सभामुखमा कांग्रेसले दाबी गर्ने

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेश सभाको सभामुख पदमा दाबी पेस गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारी निवासमा बसेको संसदीय दलको बैठकले प्रदेश सभामा रिक्त रहेको सभामुख पदमा दाबी पेस गर्ने  निर्णय गरेको हो।

दलका नेता बानियाँको अध्यक्षतामा बसेको बैठकले विपत् व्यवस्थापनदेखि सभामुख चयनसम्बन्धी विषयमा महत्त्वपूर्ण निर्णय गरेको संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। सभामुख पाठकले गत २३ भदौमा जेन–जी आन्दोलन उत्कर्षमा पुगेका वेला पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले लगत्तै १ असोजमा उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका थिए।

यद्यपि, पाठकको राजीनामा भने स्वीकृत भइसकेको छैन। तिहारआघि बस्ने प्रदेश सभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्ने तयारी भएको बताइएको छ। 

सचिव महर्जनका अनुसार बैठकले हालैको मनसुनजन्य विपत् व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी राहत र पुनर्स्थापना कार्य तीव्र गतिमा अघि बढाउने निर्णय पनि गरेको छ। यस्तै, आगामी पूरक बजेटका विषयमा दलभित्र थप छलफल गरी साझा धारणा बनाउने सहमति पनि भएको महर्जनले बताए।

सुझावित समाचार