सुदूरपश्चिमले कटौती गर्‍यो दुई अर्बका टुक्रे आयोजना

अब उपभोक्ता समितिमार्फत आयोजना कार्यान्वयन नहुने

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ को बजेटमा विनियोजन भएका १० लाखभन्दा कम लागतका टुक्रे आयोजना कटौती गरेको छ ।

जेन–जी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणका लागि स्रोत अभाव भएको भन्दै प्रदेशको मन्त्रिपरिषद्को शुक्रबारको बैठकले टुक्रे आयोजना कटौतीको निर्णय गरेको हो । यो निर्णयबाट कम्तीमा दुई अर्ब बजेटका योजना कार्यान्वयनमा नजाने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

खर्च कटौतीसम्बन्धी नीति अघि बढाउने क्रममा मन्त्रिपरिषद्को बैठकले खर्च कटौती गर्न पाँचवटा निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनका अनुसार प्रदेश सरकारमातहतका निकायबाट सञ्चालन हुने आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने छैनन् । अब ठेक्का प्रणालीबाट मात्र कार्यान्वयन हुनेछन् ।

त्यस्तै, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुईभन्दा बढी खानेपानी तथा सिँचाइबाहेकका आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने, हाल विनियोजित रकममा छपाइ तथा प्रकाशनतर्फ ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्यांकन खर्च, तालिम, गोष्ठी तथा सेमिनारतर्फ विनियोजन बजेटको ५० प्रतिशत कटौती गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै, बैठकले अनुभव आदानप्रदान तथा अन्तरप्रदेश भ्रमण, दिवस, समारोह, उत्सवका कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

प्रदेशमा खर्च कटौतीका लागि भन्दै मुख्यमन्त्री शाहले त्यसअघि बिहीबार धनगढीमा सर्वदलीय बैठक आह्वान गरेर योजना कटौतीको प्रस्ताव गरेका थिए । तर, सत्तारूढ एमालेले असहमति जनाएपछि निर्णय हुन सकेको थिएन । तर, त्यसको भोलिपल्ट मन्त्रिपरिषद्बाट निर्णय भएको हो ।

सुझावित समाचार