बागमती प्रदेशमा चार उपसचिवको सरुवा

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले चारजना उपसचिवको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा प्रमुख सचिव भुपाल बरालले तीनजनालाई कार्यालय प्रमुख र एकजनालाई मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारी तोकेका हुन् । सरुवा हुनेमा शिक्षा समूहतर्फका चारजना उपसचिव (९ औं तह) रहेका छन् । 

निर्णयअनुसार सामाजिक विकास कार्यालय मकवानपुरमा कार्यरत गोपाल कँडेललाई शिक्षा निर्देशनालय बागमती प्रदेशको कामु महानिर्देशकमा सरुवा गरिएको छ । ११औँ तह ‘सचिवस्तरको दरबन्दी रहेको उक्त निर्देशनालय खुबीराम अधिकारीलाई गत साता सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरिएको कारण रिक्त थियो ।

त्यसैगरी, कँडेल कार्यरत सामाजिक विकास कार्यालय मकवानपुरको प्रमुखमा सूर्यबहादुर दाहाललाई पठाइएको छ । दाहाल कार्यरत युवा तथा खेलकुद मन्त्रालयको महाशाखामा भने लोकबहादुर वाइबाको सरुवा गरिएको छ । 

वाइबा यसअघि सामाजिक विकास कार्यालय धादिङ गजुरीमा कार्यरत थिए । उक्त कार्यालयको जिम्मेवारी अब प्रदेश युवा परिषदमा कार्यरत रमेश घिमिरेले सम्हाल्नेछन् । प्रदेश सरकारका प्रमुख सचिव बरालले सरुवा भएका सबै उपसचिवले तोकिएको कार्यस्थलमा गएर चाँडै पदभार ग्रहण गर्नेछन् ।
 

सुझावित समाचार