जिल्ला अदालत बाराले राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा उपस्थित नै नभएका व्यक्तिको ठाउँमा अर्को व्यक्ति खडा गरेर धरौटीमा छाड्ने आदेश गरेको छ । आइतबार राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई अदालतमा हाजिर नै नगराई धरौटीमा छाड्न आदेश गरेको हो ।
इजलास नम्बर १ का न्यायाधीश भोला ढकालले राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेका हुन् । स्रोतका अनुसार भारत रक्सौल पूर्वी चम्पारण बिहार हरैयाका ५८ वर्षीय अशोक र उनकी छोरी ३२ वर्षीया निवेदिकाको ठाउँमा अर्को दुई भारतीय नागरिकलाई हाजिर गराएर अदालतबाट धरौटीमा छाडिएको हो ।
अदालतले राजस्व चुहावटमा अशोकलाई १५ लाख र निवेदिकालाई पनि १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अशोकलाई १५ लाख र निवेदिकासँग १० लाख धरौटी माग गरिएको हो । अदालतबाट धरौटीमा छुटेका अशोक र निवेदिकालाई नम्बर नखुलेको गाडीमा घरबेटीले हालेर लगेका थिए ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरेर बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका स्रेस्तेदार राजकुमार दाहालले अदालतमा मुद्दामा सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र खुल्ने कागजात हेरेर भित्र्याइएको बताए । उनका अनुसार अदालतमा राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरण मुद्दामा सम्बन्धित व्यक्तिलाई नै हाजिर गराएर धरौटीमा छाड्न आदेश भएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार परिच्छेद ७ को ६७ (२) को (ख) अनुसार एक वर्ष वा सोभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेको अभियुक्तको नेपालमा स्थायी बसोबास नभएको र निजलाई थुनामा नराखेको खण्डमा निज भाग्ने र पक्राउ पर्ने सम्भावना नरहेकोमा पुर्पक्षमा राख्न सकिनेछ ।