फोटो खिच्दाखिच्दै गोली लागेको त्यो क्षण

आन्दोलनकारीको ढुंगा र पुलिसको गोलीबाट बच्दै फोटो खिच्दाखिच्दै मलाई पनि गोली लागिसकेछ

शनिबार, ४ असोज, २०८२
डिजिटल संस्करण

भदौ २३ । बानेश्वरको संसद् भवन अगाडि मध्य दिउँसो कानको पछाडि केही कुरा आएर ठोक्किएजस्तो लाग्यो । १ बजेको समय थियो । त्यहाँको माहोल र स्थिति कुनै युद्ध मैदानभन्दा कम थिएन । बानेश्वर पुग्नुअघि नै यस्तो माहोल बन्न सक्छ कि भन्ने डर मनमा थियो । त्यो भिड, त्यो जोस, त्यो आक्रोश केवल भ्रष्टाचारको विरोधमा थियो ।

बिहान करिब ९ बजेदेखि नै माइतीघर मण्डला आन्दोलनकर्मीले भरिभराउ थियो । यो आन्दोलनमा जम्मा भएको भिड हेर्दा पक्कै पनि ठुलो केही हुन्छ जस्तो लागेको थियो । त्यहाँ देखिने अनुहार प्राय: पार्टीको आन्दोलनमा भन्दा फरक अनुहारका थिए । मानिसहरू थपिँदै गए, पार्टीमा आबद्ध अनुहार पनि देखिन थाले । जुम लेन्सले टाढा–टाढाकाहरू प्रस्ट देखिन्थे । त्यो भिडमा आदि जति पार्टीका कार्यकर्ता देखिन्थे, आधा जति नयाँ अनुहार नै थिए । त्यो भिडको नाराहरू धेरै थिएनन् । मात्र थियो, सुशासन, भ्रष्टाचारीलाई कारबाही, प्रधानमन्त्रीको राजीनामा । नेपालको झण्डामुनि बसेर सबैको एउटै स्वरमा सुशासनको आवाज उठाइरहेका थिए ।

माइतीघरबाट १० बजे र्याली बानेश्वतिर अगाडि बढ्यो । बबरमहलबाट मुख्य सडक हुँदै अगाडि बढिरहँदा अवस्था सामान्य थियो । पुलिसहरू होटेल इन्द्रेणी अगाडि बाटो ढाकेर निषेधित क्षेत्रको बोर्ड राखेर बसेका थिए । 

अरू वेलाको जस्तो आन्दोलनकारीलाई सजिलै रोक्ने गरी प्रहरी तैनाथ थियो । एउटा पानीको फोहोरा बोकेको पुलिसको गाडी पनि थियो । पहिलो लाइनमा दंगा नियन्त्रक अनि सशस्त्र प्रहरी बलको ठुलो जत्था तैनाथ थियो । केही समय नाराबाजी र पुलिससँगको ठेलमठेल चलिरह्यो, यस्तो हुनु सामान्यजस्तै हो । केही समयसम्म ठेलमठेल चल्दै गर्दा सर्विस लेनतर्फको हुल उत्तेजित बन्दै गएको थियो । त्यतिवेलासम्म त्यो भिडभाडमा पार्टीका कार्यकर्ता पनि मिसिएका थिए । केही विद्यार्थीका हुल फेरि मिसिए । अवस्था आक्रामक भए पनि सन्तुलित नै थियो । निषेधित क्षेत्रको बारअगाडि भएका आन्दोलनकारी माइतीघर मण्डलामा देखिएकाभन्दा फरक र उग्र स्वभावका देखिन्थे ।

आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि बल्ल पुलिसले पानीको फोहोरा चलायो । लाठीचार्ज गर्न सकेन । पुलिसले आन्दोलनकारीलाई अगाडि बढ्न दिएकोजस्तो देखियो । अघिल्ला आन्दोलनजस्तै एमसिसीविरुद्धको आन्दोलन, शिक्षक आन्दोलन, लघुवित्त आन्दोलन, मिटर ब्याज आन्दोलनलगायत आन्दोलनमा धेरै आन्दोलनकारी थिए । त्यसवेला परिस्थिति पुलिसले सजिलै नियन्त्रण लिएको थियो । जेन–जी आन्दोलन सजिलै बानेश्वर चोक पुग्यो । 

यसलाई सामान्य तरिकाले हेर्दा पनि पुलिसभित्र समन्वयको अभाव र प्रहरी र सशस्त्र प्रहरीबिच पनि राम्रो समन्वय नभएकोजस्तो देखिन्थ्यो । दुवै युनिट असफल भयो । पुलिसले अश्रुग्यास र गोली हान्न थाल्यो । त्यो समयसम्म पुलिसको युनिट थपिएकै थिएन ।

पुलिसले आफूसँग भएको सबै हतियार प्रयोग गरिसकेको थियो । आन्दोलनकर्मी संसद् भवनतिर बढिरहेका थिए । आन्दोलनकारी पुलिसको गोलीले ढलिरहेका थिए । आफ्नै अगाडि धेरै आन्दोलनकारी गोली लागेर ढलिरहेका थिए । गोली कताबाट चलिरहेको थियो, मेसो पाइएन । जति आन्दोलनकारी ढल्दै गए, त्यति नै आन्दोलन उग्र हुँदै गयो । पुलिसले आफ्नो संयमता गुमाउँदै गयो । बानेश्वर चोक युद्ध मैदान बन्दै गयो । वरिपरि जता हेर्यो, त्यतै मानिस ढलिरहेका थिए । अश्रुग्यासले आँखा पोलिरहेको थियो । गोली आएको मेसो पाउन सकिने अवस्था नै थिएन । कहिले रोडको डिभाइडरमा लुकेर फोटो खिचेँ, कहिले पुलिसकै आड लागेर फोटो खिचेँ । आन्दोलनकारीको ढुंगा, पुलिसको गोली र अश्रुग्यासको बिचमा पिल्सिएर फोटो खिचिरहेँ । मनमा त्रास थियो नै, कामको जिम्मेवारी पनि थियो । जति आन्दोलनकारी गोलीले ढल्थे, मन कुँडिदै जान्थ्यो । त्यही वेलाको परिस्थितिले मलाई चैत १५ गतेको आन्दोलनको याद दिलायो । अनि सम्झेँ, त्यसवेला पनि आन्दोलनमा उक्साउने र भड्काउने मानिस थिए ।

आन्दोलनको एजेन्डा बोकेर आउनेहरू कताकता तितरबितर भए, केही घाइते भए । बिचरा, ती कलिला जेन–जीहरूलाई आन्दोलनमा यति क्रूर दमन हुन्छ भन्ने के थाहा ? एकदमै खराब अवस्थामा त्यहाँ जोगिनु नै ठुलो चुनौती थियो । भाग्दै लुक्दै फोटो खिच्दाखिच्दै मलाई पनि गोली लाग्यो ।

संसद् भवनको मुख्य गेटअगाडि आन्दोलनकारीले तोडफोड गर्दै थिए । कोही हाम्रो छेउमै आएर ढुंगा हान्दै थिए । त्यही आन्दोलनकारीलाई हानेको गोली मलाई पनि लाग्यो । करिब १ बजेको थियो होला । दाइहरू, साथीभाइ सबै वरिपरि नै थिए । गोलीको छर्रा आयो भनेर कुरा गर्दागर्दै मलाई लाग्यो । धन्न सबै सँगै थिए, बोकेर अस्पताल लगिहाले । निरञ्जन दाइले पछाडि बोक्दा घाउको प्वालमा हातको औँला सजिलै पस्ने थियो । धेरै डर लाग्यो, तर आत्मविश्वास घटेको थिएन । सबै फोटो पत्रकार साथीहरू वरिपरि भएर पनि होला, मलाई त्यतिवेला नेपाली उखान पनि याद आयो, तोरीको फूल देख्ने गरी भनेको यस्तै त होला ।

सिभिल अस्पताल पुग्दासम्म मेरो मनमा धेरै कुरा खेलिरहेको थियो । घाँटीमा चोट कस्तो हो, संक्रमण कस्तो हुने हो, अपांग पो हुन्छु कि ! डराइरहँदा दिमागले झन् धेरै नै सोच्ने रहेछ । सिभिल अस्पताल बिरामीले भरिभराउ थियो । सबै स्टाफ अन्योलमा देखिन्थे, सबैको आँखामा डर–त्रास मात्र थियो । केही नर्स बेटाडिनले घाउबाट बग्ने रगत रोक्न पट्टी कस्दै थिए । बिरामीहरू यत्रतत्र भुइँमै थिए । कोहीको छातीबाट, कोहीको टाउकोबाट रगत बगिरहेको थियो । यस्तो अवस्था फिल्ममा मात्र देखिन्थ्यो ।

अस्पतालमै पुलिसले ग्यास फायर गरिरहेको थियो । केही डाक्टर आफैँ घाइते भए । मेरो दुखाइ बढिरहेको थियो । डाक्टर कोही पनि आएर सोध्दैनथे । सँगै भएको साथी संजित डराइरहेको थियो । अब के गर्ने, पूरै अन्योल थियो ।

त्यहाँ उपचार नहुने भएपछि आफैँ पाटन अस्पताल जान्छु भन्ने आँट आयो । जन्मदेव दाइ र संजित सँगै जाने कुरा भयो । एम्बुलेन्समा मसँगै अर्को बिरामी बोकेर हामी पाटनतिर लाग्यौँ । बाहिर गेटमा आइपुग्नेबित्तिकै एम्बुलेन्स तोडफोड भयो । संजितलाई थुतेर बाहिर निकाल्यो । हामीलाई झन् धेरै डर लाग्यो । बल्लबल्ल फुत्केर पाटन पुगियो ।

पाटन पुग्दा अब मर्दिनँ भन्नेमा ढुक्क भएँ । तर, अघिल्लो आन्दोलनका घाइतेजस्तै मेरो पनि जीवन ह्विलचियरमै बित्ने हो कि भन्ने डरले सतायो । उपचार हुँदै गएपछि बिस्तारै डर कम हुँदै गयो ।

अहिले सबै ठिक छ । पाटन अस्पतालको ‘इएनटी’ विभागका डाक्टर र नर्सप्रति धेरै आभारी छु । घाउ निको हुन केही समय पक्कै लाग्नेछ । यसको दाग भने बाँचुन्जेल हुने नै छ ।

अझै सपनामा त्यो कहालीलादो दिन देख्छु । छेउमै गोली लागेर ढलेका आन्दोलनकारी देख्छु । आशा गरौँ, त्यस्तो हिंसात्मक आन्दोलन अब नहोस् ।

सुझावित समाचार