बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप

आइतबार, २६ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन एमाले बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले आइतबार सूचना जारी गर्दै साउन २७ गतेको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक दलको कार्यालयमा बस्ने भएकाले सबै सांसदलाई उपस्थित हुन सूचनामा भनिएको छ ।

यसअघि नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ । शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए ।

कांग्रेसका प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा सरकार गठन गरेका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।

सुझावित समाचार