राप्रपाको असन्तुष्ट पक्षले विवादित निर्णय उल्टाउन अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाब दिने र बैठकमै प्रतिवाद गर्ने रणनीति अपनाएको छ । सोमबार राजधानीमा बसेको असन्तुष्ट पक्षको अनौपचारिक बैठकले एकजुट भएर निर्णय उल्ट्याउन दबाब दिने निष्कर्ष निकालेको हो ।
आगामी केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकबाट निर्णय उल्टाउने गरी अघि बढ्ने निष्कर्ष असन्तुष्ट पक्षको छ । राप्रपाले भदौमा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । त्यसअघि केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने नेताहरूले बताएका छन् ।
‘विधिविधानविपरीत अन्यायपूर्ण निर्णयविरुद्ध हामीले आवाज उठाइरहेका छौँ । निर्वाचन आयोग पनि गएका छौँ । यी सबै विषयबारेमा जानकारी गराइएको हो । हामी सामूहिक रूपमै अगाडि बढ्छौँ,’ महामन्त्री धवलशमशेर राणाले भने ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजकबाट नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि राप्रपामा विवाद बढेको हो । उक्त निर्णयको विरुद्धमा असन्तुष्ट पक्ष निर्वाचन आयोगसमेत गएको थियो ।
लिङ्देन पक्षले भने सुवेदीले पार्टी परित्याग गरेकाले कार्कीलाई जिम्मेवारी दिइएको दाबी गर्दै आएको छ । सुवेदीले आफूले पार्टी परित्याग नगरेको जिकिर गर्दै आएका छन् । उनले अनुशासन समितिको संयोजकमा पुनर्बहालीका लागि निवेदन नै दिएका छन् ।