बागमती प्रदेशमा नयाँ सरकार : एमालेले टुंग्यायो ६ मन्त्री

मंगलबार, २१ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति तीन बजे र शपथग्रहण चार बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । बानियाँसँगै नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीले पनि आजै शपथग्रहण गर्नेछन् । एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई शपथ लिने एक सांसदले जानकारी दिए ।

उनका अनुसार एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एकजना मन्त्री भने पुनः दोहोरिने र अन्य पाँचजना नयाँलाई अवसर दिइनेछ । एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ भने दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापामगर रहेका छन् ।

उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापा श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावरणमन्त्री, मधुसुधन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बन्ने एमालेले जनाएकाे छ । उनका अनुसार एमालेबाट मन्त्री बन्ने व्यक्ति टुंगिए पनि मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्ने ती सांसदले जानकारी दिए ।
 

सुझावित समाचार