दलको नेता निर्वाचित भएपछि बानियाँद्वारा प्रदेश प्रमुखलाई जानकारी

सत्ता हस्तान्तरणको दबाब बढाउँदै बानियाँ

बुधबार, १५ साउन, २०८२
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले बुधबार साँझ प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई आफू दलको नेता निर्वाचित भएको औपचारिक जानकारी गराएका छन् । बानियाँले प्रदेश प्रमुख कार्यालय, हेटौँडामा पुगेर निर्वाचन परिणामसहितको पत्र बुझाएका हुन् ।

बुधबार दिउँसोको मतदानमा कुल ३५ मध्ये २२ मत प्राप्त गर्दै बानियाँ दलको नेतामा विजयी भएका थिए । कांग्रेस संसदीय दलको विधान ०७९ को धारा ५ को उपधारा (२) अनुसार कुल सदस्य संख्याको बहुमत प्राप्त गरेपछि बानियाँको जित सुनिश्चित भएको हो । बानियाँको यो कदमसँगै प्रदेश सरकारमा नेतृत्व परिवर्तनको सम्भावना थप बलियो बनेको छ । कांग्रेसमा संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै कार्यकारी प्रमुख (मुख्यमन्त्री) बन्ने व्यवस्था रहेको छ । यही परिपाटीका आधारमा बानियाँले प्रदेश प्रमुखसँग औपचारिक रूपमा भेट गरेको अनुमान गरिएको छ ।

यता, बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामाले भने तत्काल राजीनामा दिनुपर्ने अवस्था नभएको भन्दै सरकार विस्तारको तयारी थालेका छन् । उनले बिहीबार दिउँसो १ बजे तीनजना मन्त्रीको शपथ कार्यक्रम तय गरेका छन् । लामा गठबन्धनको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका हुन् । यद्यपि, संसदीय दलको नेताबाट पराजित भएपछि उनको नेतृत्वमा रहेको सरकारको वैधानिकता र नैतिकता दुवैको विषयमा बहस सुरु भएको छ ।

सुझावित समाचार