लोपोन्मुख एक हायु परिवारको बेचैन मनसहित ‘पलायन’को प्रयास

कहिल्यै समाचार नबन्ने गाउँ, कहिल्यै खोजी नहुने लोपोन्मुख परिवार, जब हराए अनि मात्र चर्चामा आए

मंगलबार, १३ साउन, २०८२
डिजिटल संस्करण

गाउँको एकान्त डाँडामा सधैँजसो घाँसपात गर्न देखिने उर्मिला हायु र उनको १६ सदस्यीय परिवार अचानक हराएपछि गोलान्जोर गाउँ नै स्तब्ध भयो । केही दिनदेखि घाँसपात गर्न नआएपछि गाउँले सोमबार बिहान ९ बजेतिर खोजी गर्दै घरमा पुगेका थिए । जब गाउँलेहरूले गोलान्जोर गाउँपालिका– ६, छेत्पामा रहेको उनको घरमा बाख्रा बाँधिएको, कुकुर र कुखुरा खुला, चुलोमा नपकाएको मासु र आँगनमा छरपस्ट लुगाहरू देखे, त्यसले त झनै रहस्य सिर्जना गर्‍यो र सँगसँगै मनमा चिसो पनि पस्यो ।

गाउँलेले उर्मिलाको परिवार हराएको सोमबार मात्र थाहा पाए पनि घटनाचाहिँ तीन दिनअघिकै थियो । ९ साउनको मध्यराति एक बजे गाउँले गहिरो निद्रामा थिए । ठिक त्यहीवेला उनीहरू कसैलाई नबताई चुपचाप हिँडेका थिए । सिंगो गाउँ स्तब्ध हुँदा उर्मिलाको परिवारचाहिँ रहस्यमय यात्रामा थियो । कहिल्यै समाचार नबन्ने गाउँ, कहिल्यै खोजी नहुने लोपोन्मुख परिवार, जब हराए अनि मात्र चर्चामा आए । घटनाले सिंगो देशको ध्यान खिच्यो र प्रहरी प्रशासन खोजीमा लाग्यो ।

तीन दिनसम्म सन्नाटा रह्यो । फोन अफ थिए । कुनै सन्देश वा सूचना थिएन । प्रहरीले सामूहिक फोटोसहित नाम सार्वजनिक गर्‍यो । परिवारको अन्तिम मोबाइल लोकेसन रामेछापको समन्दीछापमा ट्र्याक भयो । त्यसपछि मात्र घटनाको रहस्य खोज्ने प्रहरी यात्रा यात्रा सुरु भयो ।

उर्मिलाको परिवार इभी भ्यान रिजर्भ गरी सिन्धुलीबाट मकवानपुर, हेटौँडा हुँदै पोखरा पुगेको रहेछ । शनिबार पोखराको लेकसाइडको होटेल जननीमा बसेका उनीहरू सोमबार गगनगौँडास्थित दुई घरमा आश्रय लिएको अवस्थामा भेटिए । होटेल सञ्चालकले चिनेर खबर गरेपछि कास्की प्रहरीले सिसिटिभी अवलोकन गर्‍यो । र, उनीहरूको आश्रयस्थल पत्ता लगायो । र, टुंगियो हायु परिवारको तीन दिनको रहस्यमय यात्रा ।

तीन दिनअघि सिन्धुलीबाट सम्पर्कविहीन भएका भनिएका लोपोन्मुख हायु समुदायका एकै परिवारका सबै १६ जना सोमबार राति पोखरामा सकुशल भेटिएका छन् । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले हायु परिवारलाई गगनगौँडास्थित सोमनाथ पौडेलको घरमा १२ र चन्द्र भण्डारीको घरमा चारजना आश्रय लिइरहेको अवस्थामा फेला पारिएको बताए । त्यसअघि उनीहरू शनिबार मात्र लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा बसेका थिए ।

हायु परिवारले छाडेको सिन्धुलीस्थित घर

चौतर्फी समाचार र प्रहरीले सामूहिक तस्बिरसहित नाम सार्वजनिक गरेपछि होटेल जननीका सञ्चालक सुनील भुर्तेलले कास्की प्रहरीलाई जानकारी गराएका थिए । भुर्तेलले तीन कोठा बुक गरेर बसेको परिवारका सिसिटिभी फुटेज प्रहरीलाई दिए । ‘त्यसपछि सिसिटिभीका आधारमा लोकेसन ट्र्याक गरेर पत्ता लगायौँ,’ एसपी ओलियाले भने । पोखरा सिसुवास्थित प्रहरीचौकीमा रहेका उनीहरूलाई सोधपुछपछि प्रक्रिया पुर्‍याएर परिवारका सदस्यको जिम्मा लगाइने उनले बताए ।

प्रारम्भिक सोधपुछमा उनीहरूले गाँउमा बिरामी भइराखेको र रोजगारी पनि नपाएपछि सामूहिक पलायान रोजेको बताएका छन् । ‘आफ्नो गाउँ मन नपरेको र त्यहाँ धेरै बिरामी भएकाले अर्काे ठाउँ बस्न घर छाडेको उहाँहरूले बताउनुभएको छ । आफूहरू ज्यामी काम गर्ने भन्दै काम खोज्दै स्थानीयको घरमा पुगेको बुझिएको छ,’ एसपी ओलियाले सुनाए ।

सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार हायू परिवार १० साउन बिहान १ बजे मधेश प्रदेश ०४–००१ज ००८१ नम्बरको इभी भ्यानमा खनियाँखर्क–सिन्धुली– हेटौँडा– मुग्लिन हुँदै पोखराको लेकसाइड लागेका थिए । हायू परिवारलाई लेकसाइड होटेल जननी पुर्‍याएका इभी गाडीका चालक नवीन विकको भनाइ उद्धृत गर्दै प्रवक्ता सुवेदीले बताए । चालक विकले कास्की प्रहरी कार्यालयमा उपस्थित भएर घटनाबारे जानकारी गराएका थिए । ‘उहाँहरू विगतमा प्रयोग गर्ने गरेको सबै मोबाइलका सिम परिवर्तन गरेकाले हामीले सीधै कुरा गर्न सकेका छैनौँ, कास्की प्रहरीले सोधपुछ गरिरहेको छ,’ सुवेदीले भने ।

उर्मिला र उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नाति र एक नातिनी सम्पर्कविहीन भएको बताइएको थियो । माइली छोरी सुजाता भने काठमाडौंबाट प्रहरी सम्पर्कमा आएकी थिइन् । उनले त्यसअघि नै आफू काठमाडौंमा रहेको बताएकी थिइन् । पोखरामा भेटिएका १६ मध्ये एकजना उर्मिलाका ज्वाइँ हुन् । उर्मिलाका पति साने तीन वर्षअघि बेपत्ता भएकामा पछि घरनजिकै जंगलमा कंकाल फेला परेको थियो ।

उर्मिलाको परिवारले घरमाथि डाँडामा बसन्त हायूको घरछेउमा गोठ बनाएर भैँसी पालेका थिए । तर, वडाध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार बाख्रा, कुकुर र कुखुरा घरमै रहेको, भान्सा कोठामा आगो लागेको र केही केजी नपकाएको मासुसमेत फेला परेको थियो । स्थानीयले प्रहरीलाई पनि खबर गरेपछि थप खोजी भएको थियो ।

उनीहरूको मोबाइल स्विच्ड अफ रहेको, तर उर्मिलाको मोबाइलको लोकेसन तीन दिनअघि रामेछापको समन्दीछापमा ट्र्याक भएको पाइएपछि प्रहरीले खोजी तीव्र पारेको थियो भने सामूहिक फोटो र नाम पनि सार्वजनिक गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार उर्मिलाका जेठा छोरा राजु हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए भने जेठी बुहारी वैदेशिक रोजगारीमै छिन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिलाको परिवारले मंगलबार मात्रै सामाजिक सुरक्षाभत्ता बुझेको थियो । गोलन्जोरमा रहेको हिमालयन बैंकबाट प्रतिव्यक्ति तीन हजार ९९० रुपैयाँका दरले १६ जनाको तीन महिनाको एक लाख ९१ हजार ५२० रुपैयाँ भत्ता बुझेका थिए । ‘उहाँहरूले सामाजिक सुरक्षा भत्ता बुझ्नुभएको रहेछ । बिहीबार बंगुर काटिएको भन्ने छ । अगेनामाथि बंगुरको मासु पनि भेटियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘६ वटा बाख्रामध्ये चारवटा दाम्लोले बाँधेको अवस्थामा, पाडी बाँधेको र कुखुरा र कुकुर खुला छाडेको फेला परेका थिए । लुगासमेत बाहिर फ्याँकिएको देखिन्छ ।’

उर्मिलाको १६ जनाको परिवारले गत मंगलबार मात्र गोलन्जोरमा रहेको हिमालयन बैंकबाट तीन महिनाको एक लाख ९१ हजार ५२० रुपैयाँ सामाजिक सुरक्षाभत्ता बुझेका थिए । सरकारले लोपोन्मुख समुदायका नागरिकलाई मासिक तीन हजार ९९० का दरले भत्ता दिँदै आएको छ । पालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख हरिकिशोर कार्कीका अनुसार उर्मिलाको परिवार १८ जनाको हो । उनीहरूमध्ये १६ जना बिहीबार वडा कार्यालयमा गएर सामाजिक सुरक्षाभत्ता नवीकरण गराएका थिए ।

पोखरामा भेटिएको उर्मिला परिवारको पलायानको प्रयास असामान्य छ । तर, सम्पूर्ण वास्तविकता अझै खुल्न बाँकी छ । 
 

सुझावित समाचार