२०औँ एसियाडमा पुरुषमा १० र महिलातर्फ आठ क्रिकेट टोली

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

जापानले अर्को वर्ष आयोजना गर्ने २०औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा सहभागी टोलीको संख्या निर्धारण भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसियाडमा पुरुषतर्फ १० र महिलामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । बंगलादेशको ढाकामा बिहीबार भएको एसिसीको साधारणसभाले कोटा निर्धारण गरेको हो । 

भारत र नेपालका प्रतिनिधिले भर्चुअल रूपमा साधारणसभामा उपस्थिति जनाएका थिए । १३ राष्ट्रका प्रतिनिधिबिच भएको साधारणसभाले आगामी एसियाडमा पुरुष तथा महिलातर्फ वरीयता प्राप्त राष्ट्रहरूले मात्र प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । जसअनुसार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गर्ने टी–२० आई वरीयताअनुसारै राष्ट्रहरूको अन्तिम निर्णय हुनेछ । एसियाडअन्तर्गत समावेश क्रिकेट टी–२० फम्र्याटमा हुनेछ । एसियाडमा चौथोपटक क्रिकेट खेल समावेश हुन लागेको हो । 

सन् २०१० मा चीनले आयोजना गरेको ग्वान्झाउ एसियाडमा पहिलोपटक क्रिकेट खेल समावेश थियो । इतिहासमै लगातार दोस्रोपटक एसियाडमा यो विधा समावेश भएको हो । तीन वर्षअघि चीनको हाङझाउमै भएको १९औँ एसियाडमा क्रिकेट खेल थियो । त्यसवेला पुरुष टोलीले मात्र प्रतिस्पर्धा गरेका थियो । अर्को संस्करणको आयोजक जापानले भने आफ्ना महिलालाई एक्सपोजर गर्न महिला क्रिकेट राखेको हो । 

एसिसीका अनुसार एसियाडअगाडि आइसिसीले पुरुष र महिलातर्फका टी–२० वरीयता सार्वजनिक गर्नेछ । पुरुषतर्फ शीर्ष १० र महिलामा शीर्ष आठ टोलीले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रावधान बनाइएको एसिसीले जनाएको छ । ‘आयोजकको प्रस्तावअनुसारै हामीले क्रिकेटमा वरीयता निर्धारण गरेका छौँ, यसैअनुसार राष्ट्रहरूको सहभागिता रहनेछ,’ एसिसीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

टेस्ट मान्यताप्राप्त राष्ट्र सिधै छनोट
आइसिसीको टेस्ट मान्यता प्राप्त राष्ट्र सिधै २०औँ एसियाडमा छनोट हुनेछ । त्यसपछि वरीयताका आधारमा थप राष्ट्र छनोट हुनेछन् । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेस्ट राष्ट्र हुन् । यी पाँच राष्ट्र एसियाडमा सिधै छनोट हुनेछन् । त्यसपछि एसोसिएट एकदिवसीय राष्ट्र रहनेछन् । आइसिसीको एसोसिएट एकदिवसीय राष्ट्रमा नेपाल, युएई र ओमान पर्छन् । 

एसियाडमा यसअघि वरीयता प्रणाली लागू गरिएको थिएन । तर, गत संस्करणमा कमजोर टोलीहरूले खराब प्रदर्शन गरेपछि एसिसीले सन् २०२६ को संस्करणदेखि वरीयता लागू गरेको हो । एकै स्तरका राष्ट्रहरूको सहभागिताले प्रतिस्पर्धा एकपक्षीय नहुने एसिसीको भनाइ छ । सन् २०१० को ग्वान्झाउ एसियाडमा बंगलादेशले अफगानिस्तानलाई हराउँदै स्वर्ण जितेको थियो । सन् २०१४ को इन्चोनमा श्रीलंकाले अफगानिस्तानमाथि जित निकाली स्वर्ण जित्यो । सन् २०२२ को हाङझाउ एसियाडमा भारतले अफगानिस्तानलाई लिग चरणमा फराकिलो जित अन्तरका आधारमा स्वर्ण जितेको थियो । अफगानिस्तान लगातार तीनपटक स्वर्ण पदकको भिडन्तमा पुगे पनि रजतमै सीमित भएको छ ।

एसिसीले दियो तीन राष्ट्रलाई सदस्यता
ढाकामा भएको एसिसीको साधारणसभाले थप तीन राष्ट्रलाई सदस्यता प्रदान गरेको छ । एसिसीले मंगोलिया, उज्वेकिस्तान र फिलिपिन्सलाई सदस्यता प्रदान गरेको हो । यो निर्णयसँगै एसिसीको सदस्यराष्ट्र ३० पुगेको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान आइसिसीका पूर्ण सदस्य प्राप्त टोली हुन् । एसिया क्षेत्रबाट युएई, नेपाल र ओमानले आइसिसीबाट एकदिवसीय र टी–२० आई सदस्यता प्राप्त गरेका छन् । थप तीनसहित अब आइसिसीमा टी–२० मान्यता प्राप्त राष्ट्रहरूको संख्या २० पुगेको छ । एसिसीले ब्रुनाई र चाइनिज ताइपेईलाई मान्यता दिए पनि आइसीसीबाट भने अझै मान्यता प्राप्त गर्न सकेका छैनन् ।

सन् २०२१ मा मंगोलियाले आइसिसीको एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । उसले पहिलोपटक १९औँ एसियाडमा सहभागिता जनायो । मंगोलियाको आफ्नो पहिलो टी–२० आई खेल नै नेपालविरुद्ध थियो । जसमा मंगोलियाले पहिलो टी–२० आईमा खराब हार व्यहोरेको थियो । अहिलेसम्म मंगोलियाले १५ टी–२० आई 
खेलेको छ । जसमध्ये उसले १४ खेलमा हारको सामना गरेको छ । 

एसिसीले पूर्णकालीन सदस्य बनेको फिलिपिन्सले सन् २०१७ मा आइसिसीको एसोसिएट राष्ट्र सदस्यता प्राप्त गरिसकेको थियो । सन् २०१९ मा आइसिसीले फिलिपिन्सलाई टी–२० आईको मान्यता दियो । फिलिपिन्सले सन् २०१९ को २२ मार्चमा पपुवा न्युगिनीसँग पहिलो टी–२० आई खेलेको थियो । फिलिपिन्सले सन् २०२५ को १३ जुलाईमा इन्डोनेसियासँग अन्तिमपटक टी–२० आई खेल खेल्यो । अहिलेसम्म फिलिपिन्सले ३८ टी–२० आई खेलमा १४ जित र २२ खेलमा हार सामना गरेको छ । उज्वेकिस्तान सन् २०१८ मा आइसिसीको टी–२० आई राष्ट्र बन्यो ।
 

See More On

सुझावित समाचार