आजबाट फेरि काठमाडौंकेन्द्रित आन्दोलनमा शिक्षकहरू

कम्तीमा ५० हजार शिक्षक सहभागी हुने दाबी

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

विगतका सबै सहमति समेटी अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षक बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिँदै छन् । शिक्षकहरू काठमाडौंमा भेला भएर दिउँसो १ बजेदेखि माइतीघर क्षेत्रमा आन्दोलन थाल्ने तयारीमा छन् । 

नेपाल शिक्षक महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलन अनिश्चितकालीन रहने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको नेतृत्वमा हुन लागेको आन्दोलनमा कम्तीमा ५० हजार शिक्षक सहभागी हुने दाबी गरिएको छ । महासंघमा आबद्ध संघ–संगठनहरूका अनुसार १० हजार उपत्यकाभित्रका तथा ४० हजार उपत्यकाबाहिरबाट आएका शिक्षक आन्दोलनमा सहभागी हुनेछन् ।

पालिका, जिल्ला र प्रदेश तहमा समेत आन्दोलन हुने र मुख्य आन्दोलन काठमाडौंकेन्द्रित रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । यसअघि शिक्षकहरूले २४ फागुनमा माइतीघर क्षेत्रमा जुलुस र धर्ना दिएका थिए । त्यसबाहेक उनीहरूले विभिन्न पार्टी कार्यालयमा समेत धर्ना दिइसकेका छन् ।

अध्यक्ष सुवेदीले आफूहरूको माग सम्बोधन गर्न सरकारले आनाकानी गरेको भन्दै सडक तताउने गरी आन्दोलनका कार्यक्रम तय गरिएको बताए । ‘हाम्रो मागप्रति सरकार प्रतिबद्ध छैन । सरकारले चाहेको भए विद्यालय शिक्षा ऐन छिट्टै आउन सक्थ्यो, तर शिक्षालाई बेवास्ता गर्दै शिक्षकलाई हेपिएको छ,’ उनले भने, ‘विगतका सबै सहमति समेट्ने गरी गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्ने तथा विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नु हाम्रो मुख्य माग हो ।’

अहिले सबैजसो विद्यालयमा पठनपाठन नभएको र नयाँ शैक्षिक सत्र पनि सुरु नभएकाले शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा लागेका हुन् । महासंघका अनुसार हाल देशभर सबै सामुदायिक विद्यालयमा गरी चार लाख शिक्षक छन् । हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म शिक्षकहरू आन्दोलनमा रहेछन् । 

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूका माग सम्बोधन हुने बताए । ‘उहाँहरूका माग सम्बोधन नहुने कुरै हुँदैन । आन्दोलनमा उत्रिनु उहाँहरूको अधिकार पनि होला,’ उनले भने, ‘शिक्षा मन्त्रालय शिक्षकका मागलाई ध्यानमा राखेर अघि बढिरहेको छ ।’

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शिक्षकहरूलाई र शिक्षाका मुद्दाहरूलाई प्राथमिकतामा नराखेकाले आन्दोलन अघि सारिएको बताए । 

यसअघि ०८० असोजमा शिक्षकको आन्दोलनले काठमाडौंका सडक तताएको थियो । त्यतिवेला देशैभरका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । एक सातासम्म काठमाडौंकेन्द्रित आन्दोलन चर्किएपछि ५ असोज ०८० मा शिक्षकका माग सम्बोधन गर्ने सहमति बनेको थियो । त्यसअनुसार काम नभएको महासंघको भनाइ छ । 

शिक्षकहरूले मुख्यतः २७ भदौ ०८० मा प्रतिनिधिसभामा पेस विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति नै आपत्ति जनाएका छन् । तत्कालीन समयमा शिक्षामन्त्री अशोक राईले सो विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए । विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा समितिमा छलफलकै क्रममा छ । समितिले सातै प्रदेशमा सुझाव संकलन गरी त्यसलाई एकीकृत गर्ने कार्य भइरहेको छ । 

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक तत्काल नआउने बताए । ‘समितिले मात्रै छलफल गरेर भएन । मंगलबारदेखि संसद्को हिउँदे अधिवेशन बन्द भयो । यसपटक पनि विधेयक अगाडि बढेन,’ उनले भने, ‘अब वैशाखको दोस्रो साता संसद् बैठक बस्ला । त्यसपछि विधेयक अघि बढ्ला ।’

सुझावित समाचार