मित्रराष्ट्र चीनसँगको सबैभन्दा नजिकको नाका तातोपानीबाट अवैध सामग्री तस्करी बढ्दै गएको पाएको छ । स्वास्थ्यलाई प्रतिकूल असर गर्ने विद्युतीय चुरोट (भेप) र विभिन्न ब्रान्डका रक्सीसमेत तस्करी भएको पाइन्छ । यस नाकाबाट सुन पनि तस्करी भएको आशंका गरिएको छ ।
गत साता बुधबार र बिहीबार बाह्रबिसेबाट २२ लाख २० हजार मूल्यबराबरको ७४० र लामोसाँघुबाट तीन लाखबराबरको १९५ थान विद्युतीय चुरोट (भेप) बरामद भएपछि तस्करीले तातोपानी नाकालाई प्रयोग गरेर अवैध सामग्री ओसारपसार गरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत जनस्वास्थ्य सेवा विभागले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई परिपत्र गरेर भेप पैठारीमा प्रतिबन्ध लगाएकाले लुकाइछिपाइ तस्करी गर्न थालिएको हो ।
‘भन्सारमा राजस्व तिरेर विद्युतीय चुरोट पैठारी गर्न पाइन्न । त्यसैले अवैध तरिकाले सामान ओसारपसार गरेको पाइन्छ,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले भने । अवैध सामग्री पैठारी हुन नदिन चेकजाँचमा सम्पूर्ण तागत र जनशक्ति लगाएको उनले दाबी गरे । अवैध भेप तातोपानी र रसुवा नाका भएर काठमाडौं भित्रिरहेको छ । तस्करले रातको समयमा भोटेकोशी नदीबाट विभिन्न ब्रान्डका चिनियाँ रक्सी र भेप तारिरहेको स्थानीय बताउँछन् । सीमामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको नियमित गस्ती हुन्छ । तस्करहरूले प्रहरीको समेत आँखा छलेर भेप तार्ने गरेका छन् ।
सीमानाकाको सम्पूर्ण सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरी बल बनदेउका एसपी अच्युतकुमार मजगैयाँले नाकामा तस्कर सक्रिय रहेको बताए । ‘तस्करले चीनको खासा बजार, रमिते हुँदै पूर्वपट्टिको जंगलबाट नेपालको बोक्चेनमा सामान ल्याउने गरेको सशस्त्र प्रहरीले पत्ता लगाएको छ। तस्करको रुट थाहा पाएपछि हामीले सुरक्षा गस्ती र उपाय लगाएका छौँ,’ उनले भने, ‘अब केही हदसम्म नियन्त्रणमा आउला ।’ मितेरी पुलबाट तातोपानी भन्सार पाँच किलोमिटर टाढा रहेकोले बिचमा रहेका सशस्त्र प्रहरीले चिनियाँ कन्टेनरमा ल्याएको सामग्रीबारे थाहा नपाउने उनले स्पष्ट पारे ।
तातोपानी, रसुवा र कोरोला नाका हुँदै राजधानी काठमाडौंमा गोदाम गरिएको ८६ हजार थान भेप राजस्व अनुसन्धानको टोलीले पुस २७ गते ललितपुरको इमाडोलबाट बरामद गरेको थियो । उक्त गोदाम तातोपानी नाकामा सबैभन्दा सक्रिय सिल्क ट्रान्सपोर्ट कम्पनीको हो । २० करोड १६ लाख राजस्वको बैंक ग्यारेन्टी बुझाएर सिल्क ट्रान्सपोर्टका प्रतिनिधि विजय शेर्पाले कम्पनीसम्बद्ध दुई कर्मचारीलाई हालसालै प्रहरीबाट रिहा गराएका छन् । भूकम्पपछि खासाबाट काठमाडौं ढुवानीमा एकलौटी राज गरेको र भन्सार गोदामको ठेक्का पनि ट्रान्स सिल्क कम्पनीकै जिम्मेवारीमा रहेकोले तस्करी हुनुमा सिल्क ट्रान्सपोर्ट कम्पनी जिम्मेवार रहेको बताइएको छ ।
चीनमा उत्पादित विभिन्न ब्रान्डका विद्युतीय चुरोट नेपाल हुँदै भारतमा लगिन्छ । चीनले भेप निकासी गर्न व्यापारिक कम्पनीलाई हेल्थ सर्टिफिकेट दिने गरेको छ । ठुलो परिमाणको भेप ल्याउँदा भन्सार चेकजाँचमा खुल्ने भएकाले तस्कर समूहले जंगलको बाटोबाट ओसार्ने र मिलेसम्म खासाबाट तातोपानी सुक्खा बन्दरगाहमा आउने चिनियाँ कन्टेनरमा पनि थोरै थोरै गरेर ल्याउने विधि अपनाएका हुन् । रेडिमेड र स्याउको बाकसभित्र भेप हालेर ल्याउने गरेको भन्सारका कर्मचारीहरूले बताएका छन् । ‘लुकाएर ल्याएको भेप चेकजाँचको क्रममा फेला पारेर जफत गरिएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए । ‘कन्टेनरमा भएका सबै बाक्सा चेकजाँच गर्न सकिन्न । केही स्याम्पल हेरेर विश्वासको आधारमा जाँचपास र सिल लगाइन्छ,’ उनले भने, ‘अवैध सामग्री पैठारी होला भनेर भन्सारले धेरै मिहिनेत गरेको छ ।’
भन्सारले प्रतिबन्ध लगाएको चिनियाँ रक्सी, चुरोट र जुस रातको समयमा भोटेकोशी नदीबाट तार्ने गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । तस्करी भइरहेको सूचना कोदारीस्थित जनपथ प्रहरीलाई दिएको, तर जनगुनासोलाई बेवास्ता गर्ने गरिएको पाइएको छ । थोरै परिमाणमा यस्ता प्रतिबन्धित सामग्री ल्याउने तस्करसँग प्रहरीले रकम लिएर छाड्ने गरेका छन् ।