राजावादी पनि आन्दोलनको तयारीमा

फागु पूर्णिमालगत्तै राप्रपाले रणनीति बनाउने, साझा मोर्चाका लागि राप्रपा नेपालको जोड

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण


 पोखराबाट काठमाडौं आउँदा पूर्वराजाको स्वागतमा समर्थकहरूको उपस्थितिले हौसिएका राजावादी दल तथा समूहले आन्दोलनको तयारी गरेका छन् । होलीलगत्तै उनीहरूले मोचाबन्दी र अलग–अलग कार्यक्रमका विकल्पसहित आन्दोलनमा जाने तयारी थाल्ने भएका हुन् । राजावादी विचार समूहको सबैभन्दा ठुलो दल राप्रपाले आइतबार पूर्वराजा शाहको उपस्थितिमा भएको प्रदर्शनको समीक्षा गर्न र आन्दोलनको भावी रणनीति तय गर्न ३ चैतका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइसकेको छ ।

‘आइतबारको उपस्थिति वास्तवमा जनसागर थियो र त्यसले स्पष्ट संकेत गरेको छ कि देश यही अवस्थामा रहन सक्दैन । हामी समान विचारका दल, नागरिक समाज सबैको साथ लिएर आन्दोलन अघि बढाउनेछौँ,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने । राप्रपाले आफ्नो एजेन्डाका लागि वातावरण थप सहज भएको र सत्ता तथा प्रतिपक्षी दलहरूले सोच्नुपर्ने परिस्थिति बन्दै गरेको निष्कर्ष निकालेको छ । पूर्वराजा शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको तथा आमनागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको राप्रपाको दाबी छ । 

राप्रपा नेपाल पनि आइतबारको प्रदर्शनबाट हौसिएको छ । राप्रपा नेपालले प्रजातन्त्र दिवसमा पूर्वराजा शाहले गरेको सम्बोधनलाई जनताले आत्मसात गरेको दाबी गरेको छ । आइतबारको प्रदर्शनलाई ‘ऐतिहासिक जनप्रदर्शन’भनेको राप्रपा नेपालले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना हुने संकेत देखिएको पनि तर्क गरेको छ । ‘आइतबार जनप्रदर्शनको राप र ताप जुन स्केलमा आएको छ, यसलाई निरन्तर अघि बढाउनुपर्छ । तर, अन्योलमा अघि जान नसकिने भएको हुनाले म विचारधारा मिल्ने सबैसँग समन्वय गरेर अघि बढ्नेछु,’ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार पदाधिकारी बैठकमा भने । 

राप्रपा नेपालले जनताको आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरूको काँधमा आएको जनाएको छ । ‘सर्वपक्षीय सहमतिको आधारमा सबै विचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नुहुँदैन भन्नेमा हामीले पुनःजोड दिएका छौँ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्तशक्तिहरू यथासम्भव चाँडो एकताबद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।

राप्रपा नेपालले ‘सर्वपक्षीय आन्दोलनको मोर्चा’ गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा र कार्यक्रम तयार गर्नसमेत सम्बद्ध सबैमा आह्वान गरेको छ । ‘अब केही समयका लागि एक्लाएक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । विचारधारा मिल्ने सबै दल, समूह र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्छ, त्यसका लागि प्रयास र समन्वय पनि हामीले नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ बर्तौलाले भने ।

सुझावित समाचार