इटहरीमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।
एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष– २०८१ को अवसरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव– २०२५ सुरु भएको संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताए।
महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदान–प्रदान गरिने जनाइएको छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको भनाइ छ ।
उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ भन्दा बढी विदेशी रंगकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता छ ।
महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौंको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताए।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गरेका थिए । सोही अवसरमा रंगकर्मीहरू लेखनाथ चण्डिका निरौला, लोकबहादुर तामाङ, विष्णु डाँगीलगायतलाई सम्मान गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललगायत रंगकर्मीहरुको सहभागिता रहेको थियो ।