सांसदहरूले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोधेकै आधारमा पत्रकारको प्रेस पास निलम्बन गर्ने निर्णय सच्याउन सरकार र संसद्को ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकलाई लिएर ‘हिटलरजस्तै तानाशाही प्रवृत्तिमा जाँदै हो सरकार’ भनेर प्रधानमन्त्री केपी ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सुनौलो नेपालका प्रकाश वली र युवा मन नेपालका किशोरकुमार श्रेष्ठको पास मंगलबार मात्र एक महिनाका लागि निलम्बन गरेका थिए । निलम्बनको चौतर्फी विरोध भइरहेका वेला बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
कांग्रेसका रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै भरमा संसद्भित्र आउने परिचयपत्र खोजिएकोमा आपत्ति जनाए । ‘पत्रकार पनि अमर्यादित हुनुहुँदैन । तर, कसैलाई प्रश्न गरेकै आधारमा परिचयपत्र खोस्ने र भित्र आउन नदिने प्रचलन लोकतन्त्रलाई सुहाउँदैन । सरकारको ध्यान जाओस्,’ उनले भने ।
कांग्रेसका चन्द्र भण्डारीले प्रश्न सोधेकै आधारमा कार्ड खोस्न नहुने बताए । ‘कसैले मलाई हिटलर भनेको भए, म हिंस्रक हिटलर होइन, मलाई इच्छाशक्ति भएको हिटलर हुने लोभ छ, जसले मुलुक बनाउन सकियोस् भन्थे । कसैले मलाई तानाशाही भन्यो भने मेरो जवाफ हुने थियो, मैले ल्याएको अधिकार हातखुट्टा हल्लाउने हो, नाकमा हान्ने होइन । वा नाकमा हान्न रोक्छु भन्ने हुन्थ्यो । विदेशीबाट डलर ल्याएर नेपालको समाज र संस्कृति ध्वस्त बनाउनेलाई रोक्ने तानाशाही हुँ भन्थे,’ उनी भन्छन्, ‘तसर्थ कसैले प्रश्न सोध्यो भन्दैमा उसको पत्रकारको अधिकारलाई हनन गरेर कार्ड रद्द गराउन हुँदैन ।’
माओवादीकी छिरिङ ल्हामु लामा तामाङले सरकारले लोकतन्त्रको धज्जी उडाइरहेको र सरकारकै कारण संघीय गणतन्त्र अप्ठ्यारोमा परेको टिप्पणी गरिन् । ‘सबैले बोल्न, विचार राख्न पाउने, विकासको साझेदार बन्न पाउने व्यवस्था गणतन्त्र हो,’ उनले भनिन्, ‘तर, अहिलेको सरकारको बदमासीका कारण जनतामा आक्रोश बढेको छ । पत्रकारमाथि ज्यादती, पुलिस कुट्ने, भ्रष्टबाट दान लिने, आलोचना सुन्न नसक्ने, कानुनको उपहास गरी तुरुन्तै आक्रमणमा उत्रिने हर्कतको संरक्षण स्वयं सरकारले गर्ने, कुरा भने सुशासन र अमनचयनको गर्ने ?’ तामाङले पत्रकारको प्रेसपास कायम गर्न माग गरिन् ।