संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेस र नेकपा (एमाले)को उच्चस्तरीय संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदल बनाएर देशैभरि अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । 

बैठकमा सहभागी एक नेताका अनुसार बैठकले  सत्तारूढ दलको बैठक शनिबार बोलाउनेसमेत निर्णय गरेको छ । बैठकमा हालै सरकारले ल्याएका अध्यादेश संसदबाट पास गर्ने विषयमा छलफल भएको थियो । अध्यादेश राष्ट्रिय सभाबाट पास गर्न बहमुत नपुग्ने भएपछि सत्तागठबन्धन सकसमा छ । त्यसका लागि शनिबार सत्तारूढ दलको बैठक बोलाइएको हो । 

राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा मतदान नगर्ने निर्णय गरेपछि सरकार समस्यामा परेको हो । 

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा  सहभागी थिए । 

सुझावित समाचार