ताप्लेजुङको आधार : जलविद्युत्, कृषि र पर्यटन

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र भौगोलिक विविधताले भरिपूर्ण छ, ताप्लेजुङ जिल्ला । हिमशृंखला, तालतलैया, वनस्पति र सांस्कृतिक विविधतालगायतका कारण पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङमा जलविद्युत्, कृषि क्षेत्र तथा पर्यटनको उच्च सम्भावना छ ।

प्राकृतिक स्रोतसाधनको प्रचुरता र गौरवशाली इतिहास बोकेको यस जिल्लाले आफ्नो सामर्थ्यको पूर्ण उपयोग गर्न सके छिट्टै समृद्ध जिल्ला बन्नुका साथै समग्र देश तथा प्रदेशको समृद्धिमा उल्लेखनीय योगदान पुग्नेछ । यस जिल्लाले देशको कुल भूभागको तीन हजार ६४६ वर्गकिलोमिटर भूभाग ओगटेको छ । यस जिल्लाको कुल जनसंख्या एक लाख २० हजार ५९० रहेकाे छ, जुन मुलुकको कुल जनसंख्याको ०.४१ प्रतिशत हुन आउँछ । नेपालको भौगोलिक हिसाबले तेस्राे ठुलो जिल्ला भए पनि हिमाली जिल्ला भएका कारण जनघनत्व प्रतिवर्गकिलोमिटर ३३ जना रहेकाे छ । 

विगतमा विदेश जानु तथा बिटिस लाहुर र सेना, प्रहरीमा काम गर्नु यस जिल्लाका बासिन्दाको आयआर्जनको मुख्य स्रोत रहेकामा पछिल्लो समयमा कृषिमा नगदेबाली अलैँचीखेती आयआर्जनको महत्त्वपूर्ण स्रोत बनेको छ । जिल्लाका बासिन्दाको प्रमुख आयआर्जनको स्रोत कृषि हो । जिल्लाको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबभन्दा बढी अर्थात् करिब ६० प्रतिशत छ ।

कोशी प्रदेशको पर्यटकीय क्षेत्रले सिँगारिएको ताप्लेजुङ जिल्लामा परम्परागत रूपमा गरिने अन्नबाली तथा तरकारी खेतीको अतिरिक्त सुन्तला, अलैँची  खेती बढ्दो छ । पहिले जिल्लाको ढुंगेसाँघु, तेल्लाबुङको सुन्तलाको नाम चलेको थियो भने अहिले जिल्लाका हरेक क्षेत्रमा सुन्तला उत्पादन हुने र झापा, सुनसरी तथा मोरङका व्यापारीहरू आएर सुन्तला लगेपछि आयआर्जन राम्रो भएको बताइन्छ । 

नेपालमा अलैँची खेतीको सुरुवात पनि यसै जिल्लाबाट भएको मानिन्छ । हाल देशका ४३ जिल्लामा समेत अलैँची उत्पादन सुरु भए पनि हालसम्म ताप्लेजुङलगायत संखुवासभा, तेह्रथुम, इलाम, पाँचथरमा धेरै मात्रामा अलैँची उत्पादन हुने गरेको छ । 

पहिले जंगलमा खेर जाने तितेपातीको व्यावसायिक खेती थालिएको छ । यसबाट तेल उत्पादन गरी देश–विदेशमा पठाउन थालिएको छ । धेरै कृषकले खेतीपातीका साथै व्यावसायिक पशुपन्छी पालन र दुग्ध उत्पादन पनि गरिरहेका छन् । जिल्लाको हिमाली क्षेत्रमा भेडा–च्यांग्रा तथा चौँरी पालन गरिन्छ, तर चौँरीहरू तिब्बतमा बिक्री नहुँदा समस्या भएको बताइन्छ । 
विविध प्रकारको धरातल, माटो र मौसमका कारण हरेक किसिमका खाद्यान्न, तरकारी, फलफूल र जडीबुटी खेती तथा पशुपन्छी पालनका लागि उपयुक्त भए पनि केही वर्षदेखि खेतीयोग्य भूमि बाँझो हुने र अन्य प्रदेश तथा विदेशबाट आयातित वस्तुमा निर्भर हुने क्रम बढ्दो छ । कृषि व्यवसायमा धेरै दुःख गर्नुपर्ने, राज्यको सहयोग नाम मात्रको हुने र उत्पादन, बजार र मूल्यमा हुने उतारचढावले कृषिमा गरेको लगानी नउठ्ने अवस्था भएपछि र अलैँचीको मूल्य प्रतिमन एक लाख कटेपछि युवाहरू अलैँचीखेतीप्रति आकर्षित भएका छन् । 

ताप्लेजुङ जिल्ला स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा भए पनि प्रचार–प्रसारकाे अभावले ओझेलमा परेको छ । जिल्लामा विभिन्न पर्यटकीय स्थल, नेपालको दोस्राे तथा विश्वको तेस्राे हिमाल कञ्चनजंघा, फक्ताङलुङ, कञ्चनजंघा हिमशृंखलालगायत सिन्जेमा ताल, तिम्बुङ पोखरी, सोदुपोखरी, भुतपोखरीजस्ता तालतलैयासमेत यसै जिल्लामा रहेका छन् । 

त्यस अतिरिक्त मेरिङदेन झरना, फुङफुङे झरना पर्यटकीय आकर्षकका केन्द्रविन्दु छन् ।  कञ्चनजंघा बेसक्याक्प, तिप्तालानाकालगायत ट्रेकिङ रुट र लिम्बू तथा गुरुङ समुदायका बस्ती, देशको लोपाेन्मुख जाति वालुङको बसोबास रहेको ओलाङचुङगोला बस्ती, सो बस्तीमा रहेको पाँच सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा प्रमुख पर्यटकीय स्थल हुन् । यता पर्यटकीय धार्मिक स्थल पाथीभरा देवी मन्दिरका कारण आन्तरिक धार्मिक पर्यटनमा टेवा पुगेको छ ।

अहिले हिमाली क्षेत्रमा हिउँ नपरेका कारण  हिमाल हिउँविहीन भएका छन् ।जिल्लाका तमोर, काबेली, मेवाखोला, मैवाखोलालगायतका नदीनालाहरूमा विभिन्न जलविद्युत् आयोजनाहरू निर्माणको क्रममा रहेका छन् भने केही आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । तर, यस जिल्लामा पनि जलविद्युत् आयोजना विकासकर्ताहरूमध्येका धेरैले बेलैमा आयोजना निर्माणको कार्य सुरु नगरी ‘झोलामा खोला’ राखेर लाइसेन्स बोकेका छन् । अहिले जिल्लामा ४५ वटा साना–ठुला विद्युत् आयोजनहरू सञ्चालित छन् भने केही आयोजना उत्पादन सुरु भएका छन् । 

नेपालजस्तै आर्थिक–सामाजिक अवस्था भएका कतिपय मुलुक विगत ६–७ दशकको अवधिमा समृद्ध बनेका छन् । तर, प्रचुर मात्रामा उपलब्ध प्राकृतिक स्रोतसाधन तथा मानव पुँजीको उचित उपयोग गर्न नसकेका कारण नेपाल अहिले विश्वका गरिब राष्ट्रहरूको सूचीमा रहेको छ । यसो हुनुमा विगतको राजनीतिक प्रणालीअन्तर्गतका विभिन्न विकृतिसहितका केन्द्रीकृत शासन प्रणाली जिम्मेवार रहेको बोध गरी मुलुकमा संघ, प्रदेश र स्थानीय तह रहेको तीन तहको राज्य संरचनाको व्यवस्था भएअनुसार जिल्लामा एक नगरपालिका, आठ गाउँपालिकासहित नाै स्थानीय तह रहेका छन् भने ६१ वडा रहेका छन् । 

सुझावित समाचार