उत्कृष्ट लयमा रोहित पौडेल : एनपिएलमा पूरा गरे दुई सय रन

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल काठमाडौंमा जारी नेपाल प्रिमियर लिगमा दुई सय रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। उत्कृष्ट लयमा रहेका उनले पाँचौँ खेलमा नै दुई सय रन पूरा गरेका हुन्। पाँच खेलमा उनले दुई सय ६१ रन जोडेका छन् ।

मंगलबार भएको चितवन राइनोजविरुद्धको खेलमा उनले अर्धशतक प्रहार गरे। टिम १ रनमै दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका  रोहितले इनिङ मात्र सम्हालेनन्, ५६ बलमा आक्रामक ८१ रन प्रहार गरे। उनको सानदार ब्याटिङको मद्दतमा लुम्बिनीले चितवनलाई १६८ रनको लक्ष्य दिएको छ। 

टिमले राम्रो प्रदर्शन गर्न नसके पनि रोहितको व्यक्तिगत प्रदर्शन भने हरेक खेलमा सानदार छ । 

पहिलो खेलमा विराटनगरविरुद्ध उनले ४६ रन प्रहार गरेका थिए। दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९५, तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध पाँच रन तथा चौथो खेलमा  जनकपुर बोल्टसविरुद्ध ३५ रन जोडेका थिए ।

प्रतियोगितामा उनको टिम लुम्बिनीले भने राम्रो प्रदर्शन गर्न सकेको छैन। चारैवटा खेल हारेर लुम्बिनी अंकतालिकाको पुछारमा छ । पाँचौँ खेलमा मंगलबार लुम्बिनी पहिलो जित निकाल्ने प्रयासमा छ। 

सुझावित समाचार