आफूलाई झुक्याएर सादा पोसाकका प्रहरी परिचालन गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेका छन् । त्यसरी खटाइएका प्रहरी आर्थिक लेनदेनमा संलग्न देखिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत एक जवानले प्रहरी महानिरीक्षकबाट खटाएको हुँ भन्दै धम्क्याएको खबर पाएपछि महानिरीक्षक कुँवरले कारबाही गर्न निर्देशन दिएका थिए ।
तर, ती प्रहरीलाई गणमा काज देखाएर जिल्ला प्रहरी कार्यालय मोरङमै खटाएको खुलेपछि डिआइजी खापुङमाथि पनि कारबाही हुन लागेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
मोरङका तत्कालीन एसपी नवराज कार्कीले तिनै घुमुवा परिचालन गरी क्रिप्टो कारोबार गर्नेसँग ४० लाख रुपैयाँ असुलेको बाहिर आएको छ । सो विषयमा विस्तृत छानबिन भइरहेको छ । तर, पीडितलाई प्रभावमा पारी उजुरी दिनबारे रोक्ने एसपीलाई जोगाउने चलखेलसमेत भइरहेको प्रहरी स्रोत बताउँछ ।