बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संघीयता कार्यान्वयनपश्चात् नागरिकहरूमा स्वास्थ्य सेवाको पहुँच सन्तोषजनक रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरूको सोमबारबाट सुरु समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले संघीय प्रणालीमार्फत नागरिकको स्वास्थ्यसम्बन्धी समस्या हल गर्न प्रदेश सरकारले काम गरिरहेको बताए।
‘प्रदेश सरकार स्थापना भएपछि नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच वृद्धि भएको छ। विगतको तुलनामा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर वृद्धि हुनुको साथै नागरिकका समस्याहरू हल हुन थालेका छन्,’ उनले भने।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषय प्रदेश सरकारको एकल अधिकार सूचीमा भएर पनि यसमा राम्रो परिणाम देखिएको उनले दाबी गरे। नागरिकको नजिकको सरकारले काम गर्न पाएकाले पनि शिक्षा र स्वास्थ्य सेवा प्रवाह विगतमा भन्दा प्रभावकारी रूपमा भइरहेको उनको भनाइ छ।
मुख्यमन्त्री लामाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र नागरिकको सहज पहुँचमा पुर्याउन प्रदेश सरकारले कानुनलाई समयानुकूल परिवर्तन गर्ने काम गरिरहेको बताए। प्रदेश सरकार स्वास्थ्यको पूर्वाधारतर्फ मात्र नभई सचेतनामूलक क्षेत्रमा लगानी बढाएर नागरिकलाई स्वस्थ रहन प्रेरित गर्न लागिरहेको उनको भनाइ थियो।
खानेकुराको व्यवस्थापन गर्न सके थुप्रै रोगहरूबाट बच्न सकिने भएकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर भएर अघि बढेको मुख्यमन्त्री लामाले दाबी गरे।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पछिल्लो समय प्रादेशिक अस्पतालहरूमा बिरामीको चाप बढिरहेको उल्लेख गर्दै बिरामीको व्यवस्थापन चुनौतीको रूपमा देखिएको बताए। उनले नागरिकका लागि गुणस्तरीय र सहज सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी र उपकरण गाउँगाउँसम्म पुर्याउन गम्भीर भएर लागिरहेको बताए।