संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले बाढी, पहिरो र डुबानबाट सिर्जित विपत्बाट सिर्जित राष्ट्रिय चुनौतीलाई एकताबद्ध भएर सामना गर्ने निर्णय गरेका छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आइतबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सबै दल र तीनै तहका सरकार मिलेर समन्वयात्मक र एकीकृत प्रयासबाट उद्धार, राहत र पुनस्र्थापनाको काम गर्ने निर्णय गरेका हुन् ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको आह्वानमा सम्पन्न सर्वदलीय बैठकले सबै दलले मिलेर विपत्को सामना गर्ने गरी समन्वयात्मक र एकीकृत ढंगले कामलाई अगाडि बढाउने गरी निर्णय गरेको बताए । ‘विपत्को यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनस्र्थापनाको काम गर्ने’ सर्वदलीय बैठकको निर्णय छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आमनागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने निर्णयसमेत गरेको छ । बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने, पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समिति, जिल्लाका यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने निर्णयमा छ ।
अवरुद्ध सडक खुलाउने, टेलिफोन टावर मर्मतसम्भार, विद्युत्गृहहरूको पुनर्निर्माणलगायतका काम सम्बन्धित मन्त्रालयहरूले तत्काल अगाडि बढाउने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ । ‘देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो–ठुलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सञ्चालन गर्ने’ निर्णयमा भनिएको छ, ‘यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले क्षतिग्रस्त प्रसारणलाइन र विद्युत्गृहहरूको मर्मतसम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालन गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।’
त्यस्तै, विपत्पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने । विपत्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दसैँ, तिहार, छठजस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यासलगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचनालगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय लिएको छ । यसबाहेक बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरूका पुनस्र्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरूको पुनस्र्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बैठकको निर्णय छ । बैठकमा सबै दलका प्रतिनिधिहरूले सरकारको प्रयासलाई साथ दिने भन्दै राहत, उद्धार र पुनस्र्थापनाको काममा देशभर खटिने जानकारी गराएका थिए । संसद्मा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, जसपा, जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, नेमकिपा, राजमो, आम जनता पार्टीले प्रतिनिधित्व गर्छन् ।
सरकारको ढिलासुस्तीप्रति विपक्षीको आलोचना
मौसम पूर्वअनुमान महाशाखाले करिब एक सातादेखि भारी वर्षाको सूचना जारी गर्दागर्दै सरकार आवश्यक पूर्वतयारीको काममा चुक्दा उद्धार, राहत र पुनस्र्थापनाको काम तदरुकताका साथ अगाडि बढाउन ढिलाइ भएको भन्दै आलोचना गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतलगायतका विपक्षी दलका नेताहरूले सरकारले विपत्तिमा परेका नागरिकको समयमै उद्धार गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।नेपालले विपत्तिको पूर्वसूचना हुँदाहुँदै राज्यका संयन्त्रलाई देशैभरि स्रोतसाधनसहित तयारी अवस्थामा राख्न नसक्दा पनि बढी क्षति भएको भन्दै सबै मिलेर चुनौती सामना गर्नुको विकल्प नरहेको धारणा राखेका थिए ।
माओवादी उपमहासचिव बस्नेतले विपत्को पूर्वतयारीमा सरकार चुकेको बताएका थिए । मौसम विभागले तीन दिनअघि नै पूर्वानुमान गर्दा पनि सरकारले पूर्वतयारीमा ढिलाइ गरेको भन्दै उनले आलोचना गरेका थिए । ‘विपत् बाजा बजाएर आउँदैन भन्ने लोकोक्ति हामीले सुन्दै आएका हौँ । तर, यसपटक जल तथा मौसम विभागले लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गर्यो, पूर्वअनुमानका आधारमा सबैतिर सूचना जारी भइराखेकै थियो । यति हुँदा पनि पूर्वसूचनाका आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित काममा सरकारले तदरुकता देखाउन सकेन,’ बस्नेतले भने ।
रास्वपाले भन्यो– दुईतिहाइ सरकारको हैसियत विपत्मा देखियो
पार्टीको केन्द्रीय समिति बैठकमा व्यस्त रास्वपाले दुईतिहाइको सरकारको हैसियत दुई दिनको पानीले देखाएको भन्दै कडा आलोचना गरेको छ । ‘दुई दिनको पानीले दुईतिहाइको सरकारको औकात देखाइदियो । पहिलो र दोस्रो दलको सशक्त सरकार बन्छ र समस्याहरू सहजै पार लाउँछ भनिएको थियो । तर, यो गठबन्धन त तेस्रो, चौथो दल, बालेन, हर्क, कुलमानहरू लखेट्न मात्रै बनेको रहेछ । त्यसैले गर्दा यस्तो अवस्था आउँदा खोइ त तयारी ?’ प्रवक्ता मनीष झाले सञ्चारकर्मीहरूसँग भने, ‘यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम र असफल साबित भएको छ ।’ नागरिकलाई सूचना जारी गर्नेबाहेक पीडित नागरिकहरूको उद्धारमा सक्रियता प्रदर्शन नगरेको भन्दै रास्वापाले खेद प्रकट गरेको छ । साथै, अपेक्षित भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण पनि गरेको छ ।
२५ स्टेसनमा एकैदिन वर्षाको ‘रेकर्ड ब्रेक’
शनिबार देशका २५ स्टेसनमा वर्षाले ‘रेकर्ड ब्रेक’ गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसमध्ये सबैभन्दा धेरै स्टेसन काठमाडौं उपत्यका र काभ्रेका छन् । २४ घण्टा (शुक्रबार बिहान ८ः४५ देखि शनिबार बिहान ८ः४५) मा रेकर्ड ब्रेकमध्ये सबैभन्दा धेरै मकवानपुरको दामनमा ४१० मिलिमिटर वर्षा मापन भएको छ । यहाँ यसअघि २० जुलाई १९९३ मा ३७३.२ मिमि वर्षा रेकर्ड भएको थियो ।
काभ्रेका तीन स्टेसनमा ‘रेकर्ड ब्रेक’ भएको छ । खोपासीमा शनिबार ३३१.६ मिमि रेकर्ड भएको छ, यहाँ ३ सेप्टेम्बर २०१५ मा २७६.९ मिमि वर्षा मापन भएको थियो । काभ्रेकै पाँचखालमा २३२.५ मिलिमिटर वर्षा रेकर्ड भएको छ, यहाँ यसअघि २१ अगस्ट १९९९ मा १४५ मिमि वर्षा रेकर्ड भएको थियो । धुलिखेलमा २२४.६ मिमि वर्षा मापन भएको छ, यहाँ २३ जुलाई २००२ मा २२० मिमि रेकर्ड भएको थियो ।
नुवाकोटको ककनीमा १६९.२, पाल्पाको बल्डयाङगढीमा २५२, पाँचथरको फिदिममा १७२, सिन्धुपाल्चोकको बाहुनेपाटीमा १९०.६, तनहुँको सखरमा २१४ र तनहुँकै खैरनीटारमा २५२.३ मिमि वर्षा भएर ‘रेकर्ड ब्रेक’ भएको छ । अर्घाखाँचीको सन्धिखर्चमा १९६.६, चितवनको गोविन्द बस्तीमा २६४, धादिङको गजुरीमा २६१.२ र झापाको चन्द्रनगढी विमानस्थलमा २५६ मिमि वर्षा मापन भएर ‘रेकर्ड ब्रेक’ भएको छ । बाँकी ११ स्टेसन भने काठमाडौं उपत्यकाका छन् ।
पृथ्वीसुब्बा गुरुङ, सञ्चारमन्त्री
सरकारले आह्वान गरेको सर्वदलीय बैठकले सबै दलले मिलेर विपत्को सामना गर्ने गरी समन्वयात्मक र एकीकृत ढंगले कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।