सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रक्रिया अघि बढाएको छ।
शुक्रबार अर्थ मन्त्रालयले उखुका लागि एक अर्ब ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानीलगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रिपरिषद्को बैठकले दुध किसानको रकम भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई उक्त रकम ऋण दिने निर्णय गरेको थियो।
कृषि मन्त्रालयका अनुसार आठ जिल्लाका उखु किसानले गत वर्षको रकम भुक्तानीका लागि जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानकै बैंक खातामा रकम जाने व्यवस्था गरिएको छ। कञ्चनपुर, नवलपरासी पश्चिम, सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट र बाराका उखु किसानले अब सरकारले उपलब्ध गराउँदै आएको गत वर्षको अनुदान रकम पाउनेछन्।
त्यस्तै, लामो समयदेखि दुध बिक्री गरेबापतको रकम नपाएका दुध किसानलाई पनि सरकारले प्रदान गरेको ऋणमार्फत रकम प्रदान गरिने दुग्ध विकास संस्थानका महाप्रबन्धक सूर्यप्रसाद पौडेलले बताए।
मन्त्री अधिकारीले दसैँअघि नै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। सरकारले प्रदान गरेको रकम किसानकै खातामा पुग्नुपर्नेमा पनि मन्त्री अधिकारीको जोड छ।