प्रकाशमानलाई रवीन्द्रको चुनौती– बालमन्दिरको ‘मुद्दा ढिसमिस गर्न खोज्ने’ तपाईंलाई नहराई छोड्दिनँ

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बालमन्दिरको जग्गा हिनामिनाको आरोप लागेकी दिदीलाई बचाउन लागेको भन्दै आगामी चुनावमा हराउने चुनौती दिएका छन्।

मंगलबार नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारको अंश सामाजिक सञ्जालमा राख्दै उनले बालमन्दिरको जग्गा हिनामिनाको मुद्दा ढिसमिस गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

मिश्रले फेसबुकमा लेखेका छन्, ‘अब तेस्रोपटक, अनाथ बालबालिकाको ’बालमन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाउ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई  नहराई त कहाँ छोडुँला र ?’ काठमाडौंको क्षेत्र नम्बर १ मा मिश्र लगातार दुईपटक थोरै मतान्तरले सिंहसँग पराजित भएका थिए। 

नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रहेकी प्रकाशमानकी दिदी रिता सिंह वैद्यमाथि संगठनको जग्गा लिजमा दिँदा अनियमितता गरेको आरोपमा सिआइबीले अनुसन्धान गरिरहेको छ। तर, पछिल्लो समय मुद्दा नचल्ने गरी अनुसन्धान नै ढिसमिस गर्न प्रहरीमाथि सरकारले दबाब दिएको छ।

३३ वर्ष संगठनको अध्यक्ष रहेकी रिताविरुद्ध गत वैशाखमै अदाललते ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिआइबीले कसैलाई पक्राउ नगरी हाजिरी जमानीमा राखेर बयान लिइरहेको छ। स्वास्थ्यको कारण देखाउँदै उनले बयान दिन मानेकी छैनन्।

संगठनको २८ रोपनी पाँच आना जग्गा बृहस्पति विद्यासदनलाई विनाप्रतिस्पर्धा विसं २१३१ सम्म न्यून मूल्यमा दिएर अनियमितता भएको हो। यसमा पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन समितिले नै रिता सिंहलगायतलाई दोषी देखाउँदै कारबाहीको सिफारिस गरेको थियो।

सोही प्रतिवेदनका आधारमा बाल संगठनले सिआइबीमा उजुरी दिएको थियो। तर, दबाबको कारण सिआइबीले अभियोग प्रक्रिया अघि बढाउन सकेको छैन। यही मुद्दा ढिसमिस गर्न लागेको विषयमा मिश्रले प्रकाशमान सिंहमाथि प्रश्न गरेका हुन्। प्रकाशमान हाल कार्यवाहक प्रधानमत्रीसमेत छन्।

सुझावित समाचार