संविधान दिवसमा सरकारले दरबार मार्गमा ‘कन्सर्ट’ गर्दै

३ असोजको साँझ हुने कन्सर्टमा प्रधानमन्त्रीदेखि उच्च तहका अधिकारी सहभागी हुँदै

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

यस वर्षको संविधान दिवसलाई सरकारले सदाझैँ सेना प्रहरीको परेड र अन्य औपचारिक कार्यक्रममा मात्रै सीमित नराख्ने भएको छ । संविधान दिवसको साँझ (आगामी ३ असोज) दरबार मार्गमा सरकारले ‘कन्सर्ट’ आयोजना गर्ने भएको हो । 

गृह मन्त्रालयका अनुसार ‘कन्सर्ट’ साँझ ४ बजेबाट सुरु हुनेछ र विविधि सांस्कृतिक कार्यक्रमसहित साँझ ७:३० बजे सकिनेछ । कार्यक्रमका लागि दरबार मार्गस्थित नारायणहिटी दरबार प्रवेशद्वार सामुन्ने भव्य ‘स्टेज’ तयार गरिनेछ । ‘स्टेज’मा कार्यक्रमका होस्ट र कलाकार मात्रै सहभागी हुन सक्नेछन् । ‘कन्सर्ट’मा प्रधानमन्त्री केपी ओलीदेखि उच्च तहका अधिकारी दर्शकका रूपमा सहभागी हुनेछन् । तर, कसैका लागि पनि सोफा या कुर्सीको व्यवस्था हुनेछैन । कार्यक्रममा सहभागी सबै आमदर्शकका रूपमा रमाउनेछन् । 

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले यसपटकको संविधान दिवस विगतको भन्दा फरक हुने र भव्य ‘कन्सर्ट’ आयोजना हुने बताए । उनले भने, ‘यसपटकको संविधान दिवस विगतको भन्दा फरक हुनेछ । सरकारकै आयोजनामा भव्य ‘कन्सर्ट’ हुनेछ । ‘कन्सर्ट’मा कलाकारका विभिन्न प्रस्तुति रहनेछन् । प्रस्तुति राष्ट्रभाव झल्कने खालका हुनेछन् ।’ गृहका अनुसार ‘कन्सर्ट’मा एलमेन्टस ब्यान्ड र कुटुम्ब ब्यान्डको मुख्य प्रस्तुति रहनेछ । त्यसबाहेक सुगम पोखरेल, दीपक लिम्बू, कुन्ती मोक्तान, सिवानी मोक्तान, शीतल मोक्तान, देविका वन्दना, स्वप्न सुमनलगायत कलाकारको प्रस्तुति रहनेछ । कन्सर्टमा राष्ट्रिय नाचघरका कलाकारसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कलाकारको नृत्य रहनेछ । ‘कन्सर्ट’को होस्ट भने सञ्जय सिलवाल गुप्ता र ओसिन सिटौलाले गर्नेछन् ।

‘कन्सर्ट’मा प्रस्तुत हुने गीत तथा नृत्य राष्ट्रिय भाव झल्किने किसिमका हुनेछन् । कार्यक्रमका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई खटाइनेछ । जसका लागि गृहले सुरक्षाकर्मीसँग सोमबार गृह मन्त्रालयमा निर्देशनसहतिको विशेष बैठक गरेको छ । 
बैठकका सम्बन्धमा गृहका सूचना अधिकारी अधिकारीले भने, ‘कन्सर्टमा आमदर्शकसहित अन्य सहभागी हुनेछन् । त्यसका लागि सुरक्षा प्रबन्ध चुस्त पार्नुपर्छ । यसका लागि आवश्यक तयारी गरिएको छ । यही सन्दर्भमा गृहमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकारीसँग बैठक भएको हो ।’

‘कन्सर्ट’मा विभिन्न रंगका आतिसबाजी हुनेछन् । यसका लागि सरकारले १५१ सदस्यीय विशेष समिति नै गठन गरेको छ । गृहका अनुसार सैनिक मञ्चमा विगतदेखि हुँदै आएको सेना र प्रहरीबाट हुने परेडका कार्यक्रम भने नियमित समयमा नै हुनेछ । विगतमा यस्ता कार्यक्रम बिहान ८ बजेको समयमा हुँदै आएका छन् । गृह स्रोत भन्छ, ‘यसपटकको संविधान दिवस अलग हुनेछ । संविधान दिवसका दिन कतिले बत्ती निभाउने भन्दै आएका छन् । विगतमा यस्ता गतिविधि नभएका होइनन् । तर, यसपटक यी सबै गतिविधिलाई चिरेर भव्य कार्यक्रम हुनेछ ।’

सुझावित समाचार