प्रदेशका कृषिमन्त्रीहरूसँग संघीय मन्त्रालयको छलफल

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

उत्पादकत्व वृद्धि र बजारीकरण प्राथमिकतामा

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सात प्रदेशका कृषिमन्त्रीसँग बैठक राखेर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणलाई जोड दिने गरी बजेट परिचालन गर्ने विषयमा छलफल गरेको छ ।

छलफमा संघीय कृषिमन्त्री रामनाथ अधिकारीले आफ्ना लागि आफैँ उत्पादन गर्ने र स्थानीय उत्पादनलाई संघीय, प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उत्पादक र उपभोक्ताबिच रहेको खाडल हटाउन तीनै तहका सरकारहरूले पहल लिनुपर्ने उनले बताए ।

किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी गराउँदै कृषिमन्त्री अधिकारीले दसैँपछिबाट किसान कार्ड वितरण गर्ने तयारीमा मन्त्रालय रहेको पनि जानकारी गराए । कृषि अनुदान व्यापक दुरुपयोग भएको गुनासो आएकाले तत्काल मन्त्रालयले अनुदान लिनेको नाम सार्वजनिक गर्ने तयारी गरेको जनाउँदै मन्त्री अधिकारीले प्रदेशका मन्त्रीहरूसँग पनि त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् । छलफलमा कोशी र गण्डकीका कृषिमन्त्री भने सहभागी थिएनन् ।

कृषि अनुदानमा रहेको दोहोरोपना हटाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अधिकारीले तीनै तहको सहकार्यमा मात्र उक्त काम सम्भव हुने बताए । उखु र दुग्ध किसानको बक्यौता रकम दसैँ अगाडि नै उपलब्ध गराउने गरी आफूले प्रयास गरिरहेको जानकारी गराउँदै मन्त्री अधिकारीले रासायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउन पनि मन्त्रालयले काम गरिरहेको बताएका थिए ।

कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व वृद्धि, आधुनिकीकरण, व्यवसायीकरण तथा बजारीकरणको स्पष्ट मार्गचित्र तयार गर्ने, कृषि अनुसन्धान नीति तर्जुमा गर्ने, वडास्तरमा नमुना फार्म स्थापना गरी सिकाइ केन्द्रका रूपमा विकास गर्ने, उन्नत बिउ, बेर्ना, दाना स्वदेशमै उत्पादनमा जोड दिन कृषिमन्त्री अधिकारीले आग्रह गरे । 

See More On

सुझावित समाचार