आफैँ न्याय खोजिरहेको ऐतिहासिक अदालत भवन, सवा सय वर्ष पुरानो भवन पुनर्निर्माणको पर्खाइमा

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

पाटन दरबार क्षेत्रमा जीर्ण अवस्थामा रहेका सबैजसो ऐतिहासिक मठ मन्दिर र भवनहरू पुनर्निर्माण भइसके । कतिपय ससाना मन्दिर पुननिर्माण धमाधम भइरहेका छन् । तर, सम्पदा क्षेत्रमै रहेको एउटा राणाकालीन ऐतिहासिक भवन भने पुनर्निर्माण पर्खिरहेको मात्रै छैन सरकारी निकायलाई समेत गिज्याइरहेको छ । पुनर्निर्माण पर्खिरहेको उक्त भवन हो मंगलबजारस्थित तत्कालीन जिल्ला अदालत भवन । हुन त यस भवनबाट करिब ३३ (०४८) वर्षअघि नै जिल्ला अदालत लगनखेलमा सरिसकेको छ । हाल खाली रहेको यो भवन पुनर्निर्माण नहुँदा सिंगो दरबार क्षेत्र नै कुरुप बनिरहेको छ ।

सुरेशमान लाखे, प्रमुख, पाटन दरबार संग्रहालय
यो भवन राणाकालीन हो, यसलाई ऐतिहासिक रूपमा निर्माण गर्नुपर्ने हुन्छ, पहिले जस्तो थियो त्यही शैलीमा निर्माण गर्नुपर्छ । भवन निर्माणका लागि छलफल भइरहेको छ, नेपालस्थित भारतीय दूतावासले भवन बनाउने इच्छा देखाएपछि भवन विभागले त्यसको प्रक्रिया अघि बढाउँदै छ ।

यस भवनबाट अदालत सरेपछि केही समय बेवारिसेजस्तै बन्यो । ०५५ सालतिर जिल्ला हुलाक कार्यालय यस भवनमा राखियो । भवनको एकापट्टि दफा कक्ष (भजन कक्ष) समेत बनाइयो । ०५५ देखि ०७२ सम्म यो भवनबाट हुलाकसँग सम्बन्धित सबै काम हुन्थे । हुलाकको बढी प्रचलन रहेको वेला यो भवनमा निकै चहलपहल हुन्थ्यो । तर, ०७२ सालको भूकम्पले भवनलाई चिराचिरा पार्‍यो । भवन ढल्न मात्रै सकेन । भवन चिराचिरा परेपछि हुलाक कार्यालय पनि यहाँबाट पाटनढोकामा सर्‍यो । सबै कागजात जोखिमपूर्ण भवनबाट सारियो । 

सबैले छाडेर गएपछि भवन पुनर्निर्माणमा सरोकारवाला निकायहरूले चासो दिएका छैनन् । जीर्ण भवनको पर्खाल तथा भित्तामा झार उम्रिएका छन् । आसपास जानसमेत जोखिमपूर्ण रहेको स्थानीय बताउँछन् । तर, पुनर्निर्माणका लागि प्रक्रिया सुरु भएकै छैन । भूकम्प अघिसम्म भवनको एकापट्टि दाफा भजन कक्षका रूपमा प्रयोग भएको थियो । 

पाटन मंगलबजार क्षेत्रको मुख्य सडक सामुन्ने रहेको उक्त भवनले ऐतिहासिक दरबार क्षेत्रलाई नै कुरूप मात्रै बनाएको छैन आसपासका संरचनासमेत जोखिममा छन् । सय वर्षअघि नै निर्माण गरिएको अदालत भवनलाई ऐतिहासिक भवनका रूपमा लिइन्छ । त्यतिवेला राणाकालीन शैलीमा भवन निर्माण गरिएको थियो । पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेका अनुसार यो भवन १९६० सालतिर निर्माण भएको थियो । ०४८ सालसम्म जिल्ला अदालतको भवनका रूपमा सञ्चालन भइरहेको थियो । ‘यो भवन राणालीन हो, यसलाई ऐतिहासिक रूपमा निर्माण गर्नुपर्ने हुन्छ, पहिले जस्तो थियो त्यही शैलीमा निर्माण गर्नुपर्छ,’ उनले भने, ‘भवन निर्माणका लागि छलफल भइरहेको छ, नेपालस्थित भारतीय दूतावासले भवन बनाउने इच्छा देखाएपछि भवन विभागले त्यसको प्रक्रिया अघि बढाउँदै छ ।’ उनका अनुसार हाल भारतीय दूतावासमार्फत बनाउने सम्बन्धमा डकुमेन्टेसनको काम भइरहेको छ । तर, निर्माण कहिलेदेखि थाल्ने, लागत इस्टिमेट, शैलीलगायत विषय भने निक्र्योल भइसकेको छैन ।

पुरातत्व विभागले भवन ऐतिहासिक भएकाले प्राचीन स्मारक संरक्षण ऐन, ०१३ (१९५६) अनुसार निर्माण हुनुपर्ने बताउँदै आएको छ । भारतीय दुवावासको सहयोगमा भवन निर्माण भए पनि त्यसको शैली ऐतिहासिक नै हुनुपर्ने दाबी पुरातत्वको छ । अब पुनर्निर्माण गर्दा तीन तलाकै बनाइने छ । पुरातत्व विभागका अनुसार भवन ०९० सालको भूकम्पमा समेत भत्किएर पुनर्निर्माण भएको थियो भने पछिल्लो समय ०७२ को भूकम्पले पनि भवन चिराचिरा पारेको छ । 

See More On

सुझावित समाचार