कोशीमा मन्त्रालयको संख्या बढाउन लागेको भन्दै माओवादीद्वारा विरोध

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेशमा एमाले–कांग्रेस गठबन्धनले भागबन्डाका लागि मन्त्रालय विभाजन गरेर संख्या बढाउन लागेको भन्दै मुख्य प्रतिपक्षी दल माओवादी केन्द्रले विरोध गरेको छ।

एमाले–कांग्रेसले व्यक्ति व्यवस्थापन र भागबन्डाको नाममा दीर्घकालीन दायित्व सिर्जना हुने गरी मन्त्रालय विभाजन गरेर संख्या बढाउने विषय स्वीकार्य नहुने भन्दै माओवादी केन्द्रले विरोध जनाएको हो।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भागबन्डाको नाममा मन्त्रालय विभाजन गरेर संख्या बढाउने काम संघीयताको हुर्मत लिने र बदनाम गर्ने कार्य भएको भन्दै रोक्नका लागि सार्वजनिक रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका छन्।

कोशीमा एमाले–कांग्रेसको सत्तागठबन्धनले मन्त्रीहरूलाई भागबन्डा मिलाउन मन्त्रालयको संख्या ९ बाट बढाएर ११ वटा पुर्याउन लागेको छ। आन्तरिक कलहले गर्दा कांग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा अझै सरकार पुनगर्ठन हुन सकेको छैन।

तीनवटा मन्त्रालय लिएर एक राज्यमन्त्रीसहित एमालेसँग सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रले गठबन्धन परिवर्तनपछि ११ साउनमै सरकार छाडिसकेको छ। माओवादीले सरकार छाडेपछि खाली रहेका मन्त्रालयहरू मुख्यमन्त्री कार्कीले नै सम्हाल्दै आएका छन्।

सुझावित समाचार