खानेपानी महसुल वृद्धिविरुद्ध धरानका १० दल आन्दोलित भएका छन् । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले एकलौटी रूपमा खानेपानी महसुल तथा जडान र मर्मत शुल्क वृद्धि गरेपछि दलहरू आन्दोलित भएका हुन् ।
खानेपानीको शुल्क वृद्धि भएको सूचना बोर्डले प्रकाशित गरेपछि दलहरूले विरोध गरेका थिए । गत ११ साउनदेखि आन्दोलित भएका दलहरूले खानेपानीको शुल्क पुरानै दरमा कायम नगरेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । पूर्वघोषित कार्यक्रमअन्तर्गत दलहरूले बिहीबार धरान उपमहानगरपालिकाको कार्यालयअगाडि नाराजुलुस गरेका थिए । बोर्ड अध्यक्ष राईले उपमहानगरपालिका घेराउ गर्न पुगेका दलहरूलाई एक लाइन सम्बोधन गर्दै आइतबार बिहान ११ बजे छलफलमा आउन आह्वान गरेका छन् ।
यसअघि दलहरूले धरानका २० वटै वडामा ध्यानाकर्षण पत्र बुझाउने, खानेपानीको बोर्डको अध्यक्षको कार्यकक्ष तथा प्रशासन शाखामा तालाबन्दी गर्ने, महसुल संकलन काउन्टरमा तालाबन्दी गर्ने कार्यक्रम सम्पन्न गरेका छन् । खानेपानी बोर्डले १० गुणा शुल्क वृद्धि गरेको दलहरूको भनाइ छ ।
न्यूनतम २० युनिटको १३० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पु¥याएको छ । २० युनिटभन्दा माथि प्रतियुनिट ३० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पु¥याएको छ । मृतकको नामबाट धारा नामसारी गर्दा दुई सय रुपैयाँबाट वृद्धि गरी २० हजार रुपैयाँ कायम गरिएको र दुई इन्चको धारा जडान शुल्कमा २० हजार रुपैयाँबाट वृद्धि गरी एक लाख रुपैयाँ पु¥याएकोमा दलहरूको आपत्ति छ । धरानको खानेपानी बोर्डमा सदस्यहरू नियुक्ति नगरी अध्यक्ष राई आफैँले मनोमानी रूपमा चलाएको प्रति दलहरूले विरोध जनाउँदै आएका छन् । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले मेयर राईले खानेपानी व्यवस्थापन बोर्डमा सदस्यहरू नियुक्त नगरी आफूखुसी चलाउँदै आफ्ना मान्छेहरूको भर्तीकेन्द्र बनाएको बताए ।
मेयर राईले निर्वाचनअगाडि निःशुल्क खानेपानी खुवाउने वाचा गर्दै आएका थिए । उनी अभियन्ता हुँदा सुक्खायाममा ट्यांकरमार्फत उपभोक्ताले खरिद गर्ने खानेपानीको बिल नगरपालिकाले तिरिदिनुपर्ने भन्दै दबाबमूलक आन्दोलनसमेत गरेका थिए । यसरी आन्दोलित हुँदा खानेपानीको मुहानमा गएर पाइपहरू काटेर तोडफोड गर्दा उनी पक्राउसमेत परेका थिए । कांग्रेस धरानका सभापति श्याम पोखरेलले भने, ‘निर्वाचनअघि निःशुल्क खानेपानी खुवाउँछु भनेर जनता झुक्याएर मत मागे । निर्वाचित भएपछि जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्न लाज लाग्नुपर्ने हो ।’