बर्खामा उच्चजोखिम मानिने हैजा र डेंगुको संक्रमण एकसाथ बढ्न थालेको छ । झाडापखालाको लक्षणसहित हैजाका शंकास्पद बिरामी बढ्न थालेका छन् भने डेंगु पनि फैलिन थालेको छ । धनगढी उपमहानगरपालिका पशुपति टोलका ६ र ८ वर्षीय दुई बालकमा हैजा पुष्टि भएको छ ।
पशुपति टोलमा हैजाको आशंकामा आठजनाको नमुना संकलन गरिएकोमा दुई बालकमा हैजा पुष्टि भएको र थप ६ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । पशुपति टोलकै दुईजनामा गत शुक्रबार हैजा पुष्टि भएको थियो । ‘वितरण गरिएको खानेपानी नभई भण्डारण गरेर राखिएको पानी प्रदूषित देखियो,’ उनले भने, ‘खानेपानीको भाँडोमा राखिएको प्रदूषित पानीमा हैजाका जीवाणु भेटिएका छन् ।’
काठमाडौंको कालीमाटी क्षेत्रका तीन पुरुष र भीमसेनस्थानकी ३२ वर्षीया महिला हैजाका लक्षण देखिएर अस्पताल भर्ना भएकामा आरडिटी परीक्षण गर्दा पजिटिभ रिपोर्ट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कालीमाटीका तीनैजना बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, ललितपुरमा हैजा ‘आउटब्रेक’ भएको गोदावरी नगरपालिका– १४, ठैबस्थित ‘नसारहित समाज पुनस्र्थापना केन्द्र’का एक व्यक्तिमा पनि आरडिटी पजिटिभ देखिएको छ । त्यसैगरी शनिबार हैजासहितका लक्षण देखिएपछि ललितपुर चापागाउँकी २४ वर्षीया युवतीमा पनि हैजाको शंका गरिएको छ । टेकुमा उपचाररत व्यक्तिको स्याम्पल थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
चार दिनमा थपिए डेंगुका १३० बिरामी
पछिल्ला चार दिनमा मात्रै डेंगुका १३० संक्रमित थपिएका छन् । देशभर संक्रमितको संख्या एक हजार ९५५ पुगेको छ । केही वर्षयता बाह्रै महिना देखिएको डेंगु यो वर्ष विगत सात महिनायता उकालो लागेको तथ्यांकले देखाउँछ । वर्षासँगै डेंगु गराउने लामखुट्टेको संख्या बढ्छ र संक्रमण बढाउँछ । यो वर्ष सबैभन्दा बढी बागमती प्रदेशमा ६२६ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णालीमा २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, कोशीमा ४८९, गण्डकीमा ३४३, लुम्बिनीमा २१४, सुदूपश्चिममा २१३ र मधेशमा ४३ जनामा पुष्टि भएको छ । जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै काठमाडौमा २२६, झापामा १२९, चितवनमा १०२ जनामा डेंगु संक्रमण देखिएको छ ।