रास्वपाको दोस्रो स्थापना दिवस

शनिबार, ८ असार, २०८१
डिजिटल संस्करण

विभिन्न राजनीति दलका नेताले जनविश्वास कायम गरेर अगाडि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वलाई सुझाव दिएका छन् । संसद्को चौथो शक्ति रास्वपाको दोस्रो स्थापना दिवसमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान समारोहमा उपस्थित नेताहरूले जनताको अवस्थामा सुधार ल्याउने गरी काम गर्न शुभकामना दिएका छन् । रास्वपा अहिले सरकारमा छ ।

वनस्थलीको चःमतीस्थित केन्द्रीय कार्यालयमा रास्वपाले शुभकामना आदानप्रदान तथा चियापान आयोजना गरेर स्थापना दिवस मनाएको छ । ७ असार ०७९ मा स्थापना भएको रास्वपा आमनिर्वाचनमार्फत संसद्को चौथो दलका रूपमा स्थापित भएको थियो । स्थापनाको दुई वर्ष पूरा हुँदै गर्दा नयाँपन बोकेर आएको रास्वपासामु जनअपेक्षा पूरा गर्नुपर्ने कार्यभार छ । 

सभापति रवि लामिछानेले जनताको अपेक्षा पूरा गर्नका लागि आफूहरूको इमानदार कोसिस रहिरहने बताए । ‘२१ सिटका रूपमा हाम्रो सहभागिताले निकै राम्रोसँग सरकार चलाउने अवस्था देखिएको छ । यो अनुभवलाई हामी भविष्यमा सेवा प्रवाहमा जोड्नेछौँ,’ शुभकामना कार्यक्रममा उनले भने । 

रास्वपालाई शुभकामना दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, राज्य व्यवस्था तथा सुशासन समिति रामहरि खतिवडा केन्द्रीय कार्यालय वनस्थली पुगेका थिए ।

यसैगरी सांसदहरू सुदन किराँती, विनोद चौधरी, रमेश लेखक, विमलेन्द्र निधि, दिलेन्द्र बडू, ज्ञानबहादुर शाही, विष्णु पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कूटनीतिक नियोगका प्रतिनिधि, कलाकारलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति पनि पुगेका थिए । 

आमन्त्रित अतिथिलाई रास्वपा सभापति रवि लामिछानेसहित पदाधिकारीले स्वागत गरेका थिए । आमन्त्रित अतिथिहरूले रास्वपा कार्यालयमा घन्टी बजाउँदै परिसरमा राखिएका स्थानीय उत्पादनको अवलोकन गरेका थिए ।

महामन्त्री मुकुल ढकालका अनुसार चियापान समारोहमा गाँजाका कपडा बनाउने तान, गाँजाको रेसाबाट उत्पादित सामग्री प्रवद्र्धनका लागि राखिएको थियो । यसैगरी विभिन्न नेपाली मौलिक उत्पादनका स्टल पनि थिए । 

See More On

सुझावित समाचार