बालिकालाई ललितपुरको चापागाउँबाट हेटौँडा, वीरगन्ज, रक्सौल हुँदै पुने लैजान खोज्ने दुई पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ६ का सम्बरबहादुर तामाङ मानव बेचबिखन कसुरमा १० वर्ष जेल बसेर एक वर्षअघि जेलमुक्त भए । जेलबाट निस्किएलगत्तै उनी पुनः मानव बेचबिखनमा लागे । पुरानो धन्दा छाडेनन् । १४ वर्षीया बालिकालाई भारतको पुने लगेर बेच्ने क्रममा पक्राउ परेपछि उनको कर्तुत बाहिरिएको हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई ललितपुर महानगरपालिका– २७ सुनाकोठीबाट गत २६ जेठमा पक्राउ गरेको हो । उनीसँगै नुवाकोट तादी गाउँपालिका– २ की ३३ वर्षीया इन्दिरा कुटवाल तामाङ पनि पक्राउ परेकी छिन् । उनीहरूले बालिकालाई ललितपुरको चापागाउँबाट हेटौँडा, वीरगन्ज हुँदै रक्सौलबाट पुने लैजान खोजेका थिए । यहीक्रममा बालिकालाई उनीहरूले तारकेश्वर नगरपालिका–७ फुटुङबाट सुनाकोठी पुर्याएका थिए ।
ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्र फुँयालले १४ वर्षीया बालिकालाई भारत लगेर बेच्ने गिरोहका दुई सदस्य पक्राउ परेको जानकारी दिए । ‘एक बालिकालाई भारत लगेर बेचिँदै छ भन्ने सूचना प्राप्त भएपछि प्रहरी अनुसन्धानमा जुट्यो । नभन्दै सुनाकोठीमा बालिका भेटियो । उनलाई लैजान खोज्ने सम्बरबहादुर तामाङ पक्राउ परे । उनकै सूचनाका आधारमा इन्दिरा कुटवाल तामाङ पनि पक्राउ परेकी हुन्,’ उनले भने ।
प्रहरीका अनुसार बालिका पक्राउ परेकी इन्दिराकी आफन्त हुन् । बालिकाको आर्थिक अवस्था कमजोर छ । पोखरामा प्रतिमहिना २० हजार रुपैयाँमा जागिर लगाइदिने प्रलोभनमा बालिकालाई इन्दिराले काठमाडौं ल्याएकी थिइन् । तर, उनले पोखरी नलगी सुनाकोठी पुर्याएकी थिइन् । उनलाई भारतसम्म लग्ने जिम्मा भने सम्बरबहादुरले लिएका थिए ।
कसैले सोधीखोजी गरे वास्तविक नाम नबताउन उनलाई भनिएको थियो । कागजात खोजे नागरिकता देखाउन भन्दै बालिकालाई विना तामाङको नाममा जारी भएको सक्कल नागरिकता दिइएको थियो । नागरिकताको व्यवस्था इन्दिराले नै गरेकी थिइन् । प्रहरीका अनुसार बरामद सक्कल नागरिकता इन्दिराको आफन्तको हो ।